
दाङका स्वर्गद्वारी आश्रमका मोही किसान र सरकारबीच सहमति भएको छ ।बुधवार सिंहदरबारस्थित भूमि, व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्रालयमा भएको आन्दोलनमा स्वर्गद्वारी आश्रमका मोही किसान र सरकारबीच सहमति भएको हो । स्वर्गद्वारी आश्रमका मोही किसानले जग्गामा एकल स्वामित्वको माग सम्बोधन गर्न किसानले गर्दै आएको आन्दोलन आजदेखि स्थगित भएको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सह–सचिव कृष्णप्रसाद सापकोटाले बताउनु भयो । उहाँले स्वर्गद्वारी आश्रमको नाममा दर्ता स्रेस्ता कायम भएको जग्गा रहेको द्वैद्य स्वामित्व अन्त्य गर्दै किसानको नाममा हुनुपर्ने माग गर्दै गुठी पीडित किसानसँग सरकारले छलफल र संवादका माध्यमबाट सहमति जुटेको बताउनु भयो । उहाँले सहमतिमा गुठी सम्बन्धि विभिन्न गुठी,मठ,मन्दिरहरुको फरक–फरक रहेको २०७२ मा भएका व्यवस्थालाई व्यवस्थित गर्ने र स्वर्गद्वारी आश्रमका मोही किसानको माग सम्बोधन गर्नेगरी नयाँ एकिकृत गुठी सम्बन्धि कानून तर्जुमा प्रक्रियालाई तत्काल अगाडि बढाउने सहमति भएको बताउनु भयो । उहाँले स्वर्गद्वारी आश्रमका मोही किसानले गर्दै आएको आन्दोलन आजदेखि स्थगित गरी आवश्यक सल्लाह सहयोग गर्नेगरी सहमति भएको बताउनु भयो ।किसानहरूले विगत लामो समयदेखि दाङको घोराहीमा प्रदर्शनसँगै मोहीमा किसानको स्वामित्व कायम गर्न माग गर्दै आएका थिए । स्वर्गद्वारी आश्रमको दाङमा रहेको सात सय ५३ बिगाहा जग्गामा मोही कायम छ । मोहियानी हकका लागि भएका विभिन्न चरणका आन्दोलन र सरकारसँग पटकपटक सम्झौता भएपनि त्यसको कार्यान्वयन भएको थिएन ।




























