काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारको परिसूचक नेप्से १८.१४ अंक घटेको छ । विगतका ६ कारोबार दिन लगातार बजार बढेको थियो ।बुधबार ६ अर्ब ४० करोडको कारोबार भएकोमा बिहीबार भने ७ अर्ब ३० करोडको कारोबार भएको छ । कारोबार रकमका आधारमा सुपरमादी हाइड्रोपावर, सप्तकोशी विकास बैंक, सिन्धु विकास बैंक, हिमालयन पावर पार्टनर र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमश: अगाडि रहे ।यस्तै, ५५ कम्पनीको मूल्य बढ्दा १८० को घट्यो भने ७ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह ०.९९ प्रतिशत बढ्दा अरु सबै सेक्टर घटे । फाइनान्स २.९३ प्रतिशत घट्यो । बैंकिङ ०.४३, विकास बैंक २.०४, हाइड्रोपावर ०.३८, लगानी ०.३७, जीवन बीमा १.१४, उत्पादन ०.८६, माइक्रोफाइनान्स १.२५, निर्जीवन बीमा ०.३४, अन्य ०.४४ र व्यापार ०.७४ प्रतिशत ओरालो लागे ।आज सप्तकोशी विकास बैंकको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन बाराही हाइड्रोपावर र हिमालयन पावर पार्टनर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।नेप्से घटेको दिन कारोबार रकम भने सात अर्ब रुपैयाँ नाघेको छ । आज तीन सय आठ वटा कम्पनीका एक करोड ५७ लाख कित्ता शेयर सात अर्ब ३० करोड रुपैयाँमा कारोबार भएको छ । अघिल्लो कारोबार दिन हिजो ६ अर्ब ४० करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।