
वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पहिलो १० महिनामा रु १ खर्ब ८१ अर्ब ७० करोड बराबरका विभिन्न पेट्रोलियम पदार्थ आयात भएका छन् ।गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो आयात रकम रु २५ अर्ब ५३ करोड अर्थात् १६ दशमलव ३५ प्रतिशतले बढी हो । गत आवको पहिलो १० महिनामा भने रु १ खर्ब ५६ अर्ब १७ करोड बराबरका पेट्रोलियम पदार्थ आयात भएका थिए ।वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवको १० महिनामा पेट्रोलियम पदार्थ आयातबाट मात्रै रु ६७ अर्ब १९ करोड राजस्व संकलन भएको छ ।यस अवधिमा रु १ खर्ब ७ अर्ब मूल्य बराबरको आठ लाख ९५ हजार २४६ किलोलिटर डिजेल आयात गरिएको छ । गत आवको सोही अवधिमा रु ७९ अर्ब ५७ करोड मूल्य बराबरको नौ लाख ८५७ किलोलिटर डिजेल आयात भएको थियो ।त्यसैगरी, चालु आवको १० महिनामा रु ३५ अर्ब ७९ करोड मूल्य बराबरको तीन लाख ९० हजार ६१५ किलोलिटर पेट्रोल आयात भएको छ । गत आवको सोही अवधिमा रु ३१ अर्ब ७१ करोड मूल्य बराबरको तीन लाख ६७ हजार ३४४ किलोलिटर पेट्रोल आयात गरिएको थियो ।यस्तै, एलपीजी ग्यासतर्फ चालु आवको १० महिनामा रु २५ अर्ब ५४ करोड मूल्य बराबरको २४ करोड २७ लाख तीन हजार १५० किलोग्राम ग्यास आयात भएको छ । गत आवको सोही अवधिमा भने रु ३० अर्ब २८ करोड मूल्य बराबरको २६ करोड ४१ लाख १४ हजार ३२६ किलोग्राम एलपीजी ग्यास आयात भएको थियो ।



























