
काठमाडौं| नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजेल–मट्टितेल, एलपी ग्यास तथा हवाई इन्धनको मूल्यमा कमी गरेको हो।निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँले घटाइएको छ भने डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले कम गरिएको छ। त्यसैगरी आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धन (काठमाडौंका लागि) प्रति किलोलिटर २६५ अमेरिकी डलरले घटाइएको निगमले जनाएको छ।खाना पकाउने एलपी ग्यासमा पनि प्रति सिलिन्डर १०० रुपैयाँले मूल्य घटाइएको छ।नयाँ मूल्यसूचीअनुसार काठमाडौं उपत्यकामा अब पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ तथा डिजेल–मट्टितेल प्रतिलिटर १९५ रुपैयाँ पर्नेछ। त्यस्तै, एलपी ग्यासको आधा सिलिन्डरको मूल्य १ हजार ३० रुपैयाँ र पूरा सिलिन्डरको मूल्य २ हजार ६० रुपैयाँ कायम गरिएको निगमले जानकारी दिएको छ।



























