
काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको दूरसञ्चार क्षेत्रमा आमूल परिवर्तन गर्ने लक्ष्यसहित सरकारले यसै वर्ष फाइभ–जी (5G) सेवा सुरु गर्ने गरी काम गरिरहेको खुलासा गरेका छन्। काठमाडौँमा आयोजित पाँचौँ संस्करणको ‘नेपाल युवा उद्यमशीलता सम्मेलन २०२६’ लाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले यस्तो जानकारी दिएका हुन्।नेपाल बिजनेस इन्स्टिच्युट र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को संयुक्त आयोजनामा भएको उक्त सम्मेलनमा मन्त्री तिमिल्सिनाले अब युवाहरू वैदेशिक रोजगारीमा मात्र निर्भर नभई नेपालमै बसेर प्रविधिको माध्यमबाट विश्व बजारमा सेवा दिनुपर्नेमा जोड दिए। "अब हामीले श्रम र जनशक्ति होइन, सेवा र सूचना प्रविधि बेच्ने दिशामा अघि बढ्नुपर्छ। यसका लागि डिजिटल विभाजन अन्त्य गर्न, इन्टरनेटको पहुँच विस्तार गर्न र सेवाको गुणस्तर सुधार्न सरकार लागिपरेको छ," मन्त्री तिमिल्सिनाले भने।मन्त्री तिमिल्सिनाले बदलिँदो श्रम बजार र प्रविधिको मागअनुसार युवाहरूलाई उद्यमशीलता तथा नवप्रवर्तन (Innovation) मा जोड्न सरकारले अनुकूल नीति र वातावरण निर्माण गरिरहेको दाबी गरे।एआई (AI) नीति कार्यान्वयन सरकारको प्राथमिकता: डा. सुदन झा
कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य डा. सुदन झाले कृत्रिम बौद्धिकता (एआई) का क्षेत्रमा नेपालको अवस्था क्रमशः सुधारिँदै गए पनि अन्तर्राष्ट्रिय स्तरमा अझै कमजोर रहेको बताए। नेपाली युवाहरू एआई र उद्यमशीलतामा आकर्षित भइरहेको उल्लेख गर्दै उनले सरकारले एआईसम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखेको जानकारी दिए। डा. झाले एआईको सही उपयोगबाट सरकारी सेवा प्रवाहलाई चुस्त बनाउन, तथ्याङ्क सुरक्षा सुनिश्चित गर्न र रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्दै उत्पादन वृद्धि गर्न सकिने स्पष्ट पारे।



























