
काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट गगनकुमार थापा पार्टीको केन्द्रीय सभापति पदमा भारी बहुमतका साथ विजयी भएका छन्। नयाँ नेतृत्व चयनका लागि भएको मतगणनाको अन्तिम परिणामअनुसार थापा आफ्ना प्रतिस्पर्धीलाई निकै ठूलो मतान्तरले पछि पार्दै सभापतिमा निर्वाचित भएका हुन्।
केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार विजयी थापाले कुल ६ हजार ५८४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले जम्मा ३७५ मत प्राप्त गर्न सके। महाधिवेशनमा कुल ७ हजार १३ मत खसेको थियो भने ५४ मत बदर भएको थियो।९४ प्रतिशत मतको रेकर्ड र ६२ सयको मतान्तर
प्रतिस्पर्धामा उत्रिएका थापाले खसेको कुल मतको ९३.८८ प्रतिशत मत पाएका छन् भने बदर मतलाई कटाएर हिसाब गर्दा उनले ९४.२५ प्रतिशत मतको ऐतिहासिक रेकर्ड बनाएका छन्। अर्का उम्मेदवार खड्गीले जम्मा ५.३५ प्रतिशत मतमा चित्त बुझाउनु पर्यो। थापाले खड्गीभन्दा ६ हजार २०९ मत बढी ल्याएर जित हासिल गरेका हुन्। यो जितसँगै कांग्रेसमा गगन थापाको नेतृत्वमा नयाँ पुस्ताको बलियो उदय भएको छ।



























