
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् निर्यात बढ्दैमा नेपालको ऊर्जा क्षेत्र पूर्ण रूपमा सफल भएको मान्न नमिल्ने बताएका छन् ।मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले आर्थिक वर्ष २०८२/८३ मा नेपालले भारत र बंगलादेशमा विद्युत् निर्यात गरी २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको तथ्य सही भएको बताए ।उनले विद्युत् निर्यातलाई सकारात्मक उपलब्धिका रूपमा लिए पनि ऊर्जा क्षेत्रका अन्य चुनौतीलाई पनि सँगसँगै सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको बताए ।मन्त्री श्रेष्ठका अनुसार नेपालको जलविद्युत् उत्पादन प्रणाली मुख्यतः नदी प्रवाही प्रकृतिको भएकाले वर्षायाममा नदीमा पानीको बहाव बढेसँगै विद्युत् उत्पादन उच्च हुन्छ । यस समयमा आन्तरिक मागभन्दा बढी विद्युत् उत्पादन हुने भए पनि स्वदेशमै खपत गर्ने पर्याप्त पूर्वाधारको अभावका कारण विद्युत् खेर जान नदिन भारत र बंगलादेशमा निर्यात गर्नुपर्ने अवस्था रहेको उनले बताए ।यता, सुख्खायाममा नदीको बहाव घट्दा विद्युत् उत्पादन कम हुने भएकाले अझै पनि भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था रहेको उनले स्पष्ट पारे ।उनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालले करिब १० अर्ब ५५ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरेको थियो । विद्युत् आयात र निर्यातको अवस्थाले उत्पादनसँगै प्रसारण तथा वितरण प्रणालीलाई समेत थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखाएको मन्त्री श्रेष्ठको भनाइ छ ।मन्त्री श्रेष्ठले विद्युत् निर्यात र स्वदेशी विद्युत् आपूर्तिलाई एकअर्काको विरोधाभासका रूपमा बुझ्न नहुने बताए । ऊर्जा क्षेत्रका समस्या उत्पादन, प्रसारण र वितरण प्रणालीसँग सम्बन्धित छुट्टाछुट्टै चुनौतीका रूपमा पहिचान गरी समाधान गर्नुपर्नेमा उनले जोड दिए ।आगामी दिनमा स्वदेशी विद्युत् खपत बढाउने पूर्वाधार विस्तारसँगै प्रसारण तथा वितरण प्रणालीको क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।नेपालमा उत्पादित विद्युत्को दिगो व्यवस्थापनका लागि आन्तरिक खपत विस्तार र अन्तर्राष्ट्रिय बजारमा विद्युत् निर्यातलाई समानान्तर रूपमा अघि बढाउनुपर्ने मन्त्री श्रेष्ठको भनाइ थियो ।



























