
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रमा कार्यरत युवा उद्यमीहरूलाई निर्धक्क भएर स्वदेशमै लगानी विस्तार गर्न आग्रह गरेका छन् ।मंगलबार अर्थ मन्त्रालयमा सूचना प्रविधि क्षेत्रका युवा उद्यमीसँग छलफल गर्दै अर्थमन्त्री वाग्लेले सूचना प्रविधि क्षेत्र सरकारको विशेष प्राथमिकतामा रहेको बताए । उनले यस क्षेत्रमा लगानी बढाउँदै व्यवसाय विस्तार गर्न आग्रह गर्दै सरकार आवश्यक सहयोग गर्न तयार रहेको धारणा राखे ।‘सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो। तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्, आफूलाई फैलाउनुहोस्। सरकार तपाईंहरूको साथमा छ,’ उनले भने ।विगतमा कृषिजन्य वस्तुको उत्पादन तथा निर्यातमा नेपालले लामो समय र ठूलो लगानी गर्नुपरेको उल्लेख गर्दै वाग्लेले सूचना प्रविधि क्षेत्रमा तुलनात्मक रूपमा कम समयमा लगानीको प्रतिफल प्राप्त गर्न सकिने बताए ।उनका अनुसार सरकारले चालु आर्थिक वर्षको बजेटमा सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । कृत्रिम बौद्धिकता (एआई) को विकासका लागि बजेट विनियोजन गर्नुका साथै सूचना प्रविधिमा कार्यरत युवा उद्यमीलाई प्रोत्साहन गर्ने नीति सरकारले लिएको उनले बताए ।वाग्लेले सूचना प्रविधि क्षेत्रका समस्या र आवश्यकताबारे सरकारलाई जानकारी गराउन उद्यमीहरूलाई आग्रह गरे । युवालाई विदेशिनबाट रोक्न स्वदेशमै अवसर र उद्यमको वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।सरकारले विश्वस्तरीय सूचना प्रविधि कम्पनीहरूलाई नेपालमा भित्र्याउन पहल गरिरहेको जानकारी दिँदै उनले नेपाललाई सूचना प्रविधिको भ्यालु चेन विकास हुने हबका रूपमा अघि बढाउने रणनीति रहेको बताए ।काम गर्ने क्रममा देखिने नीतिगत तथा व्यावहारिक समस्या समाधान गर्दै सूचना प्रविधि क्षेत्रको विकासमा सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए ।छलफलमा सहभागी दुई दर्जनभन्दा बढी सूचना प्रविधि क्षेत्रका युवा उद्यमीहरूले सरकारले सूचना प्रविधिलाई प्राथमिकतामा राखेकोमा धन्यवाद व्यक्त गरेका थिए ।




























