
काठमाडौँ — धितोपत्र बजारमा अघिल्लो दिनको सुधारलाई निरन्तरता दिन नसक्दा आज (बुधबार) नेप्से सूचक ६.३८ अंक (०.२४%) ले घटेर २५७२.३४ विन्दुमा ओर्लिएको छ। सूचकमा सामान्य गिरावट आए पनि आज बजारमा कारोबार रकम भने सुधारिएको छ।आज बजारमा कुल ३५९ कम्पनीका १ करोड ३ लाख ६८८ कित्ता सेयर ३९ हजार ४६६ पटकको कारोबारमा ३ अर्ब ७४ करोड ८० लाख ८० हजार ३०३ रुपैयाँ बराबरमा खरिद–बिक्री भए। १३ उपसूचकमध्ये आज बैंकिङ क्षेत्र मात्र सामान्य हरियो (०.०८% वृद्धि) रहँदा बाँकी सबै ११ वटा क्षेत्रको सेयर मूल्यमा गिरावट आएको छ।आजको कारोबारमा घलेम्दी हाइड्रो लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ६.२५ प्रतिशत नाफा कमाएका छन् भने एनआइसी एसिया ब्यालेन्स फण्डको मूल्य ५.८३ प्रतिशतले बढेको छ। अर्कोतर्फ, ग्लोबल आइएमई समुन्नत योजना–२ को सेयर मूल्यमा सबैभन्दा बढी ५.२६ प्रतिशतको गिरावट देखिएको छ। रकमका आधारमा पनि आज घलेम्दी हाइड्रो लिमिटेड ३२ करोड २१ लाख रुपैयाँको सेयर कारोबारसहित शीर्ष स्थानमा रह्यो भने रिलायन्स स्पिनिङ मिल्स २९ करोड ३६ लाख रुपैयाँको कारोबारका साथ दोस्रो स्थानमा रहन पुग्यो |


























