
सेयर बजार परिसुचक दोहोरो अंकले उकालो लागेको छ । बजेट घोषणा पछि लगातार ओरालो लागेको बजार परिसुचक साताको चौंथो दिन पनि झण्डै ३९ अंकले ओरालो लागेको थियो । तर साताको अन्तिम कारोबार दिन आज बिहिबार भने बजार परिसुचक १६ दशमलव ५४ अंकले उकालो लागेर १८ सय ६६ दशमलव ३४ बिन्दुमा चढ्न सफल भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १९ अंकले उकालो लागेर तीन सय ५५ दशमलव ६२ बिन्दुमा चढेको छ ।नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा समुहहरु अन्तर्गत दुई सय ७२ वटा कम्पनीहरुको सेयर किनबेच भएको छ । जसबाट २९ हजार नौं सय २२ पटकको कारोबारमा ६१ लाख २८ हजार छ सय २१ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ६५ करोड ४६ लाख ४८ हजार नौं सय २२ रुपैंयाँ पुगेको छ ।नेप्सेमा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जिवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजार पुरै हरियो भएको छ ।




























