नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक वित्तीय क्षेत्र माथिको अराजकता तत्काल नरोकिए कर्जा प्रवाहको वृद्धि र माग बढ्न नसक्ने बताउनुभएको छ ।आईतवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले बैैंक वित्तीय संस्था बिरुद्ध भइरहेको अराजक गतिविधि तत्काल सरकारले रोक्नुपर्नेमा जोड दिनुभयो । उहाँले बैैंक वित्तीय संस्था बिरुद्ध भइरहेको अराजक गतिविधिले बैंकिङ प्रणालीको मनोबल उच्च रुपमा गिराउने काम गरिरहेको दाबी गर्नुभयो । गभर्नर अधिकारीले बैंकका कर्मचारीहरुलाई कालोमोसो दल्ने,बैंकबाट निस्कने बित्तिकै कारबाही गर्ने समूहलाई तत्काल सरकारले कानूनी कारबाही गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले बैंकिङ उद्योगलाई धरासायी बनाउने गरी राजनीति समेत जोडिएको आंशका व्यक्त गर्नुभयो । उहाँले राजनीतिक रुपमा व्यक्तिगत उद्देश्य परिपूर्ति गरी बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाउने गरी आक्रमण भइरहेको बताउनु भयो । उहाँले बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाएपछि अन्य कुराहरु कमजोर हुँदै जाने अवस्था रहेको बताउनु भयो । उहाँले अर्थतन्त्र कमजोर बनाएर व्यक्तिगत स्वार्थपूर्ति गर्ने दाउमा अराजक गतिविधि भइरहेको बताउनु भयो । उहाँले सरकारले त्यस्तो गतिविधि गर्नेलाई कानूनको परिधिभित्र ल्याउनु आवश्यक रहेको बताउनु भयो । उहाँले कानूनको परिधिमा राज्यले ल्याउनसके करेक्शन हुनसक्ने बताउनु भयो ।उहाँले भन्नुभयो,‘अराजक गतिविधिका विषयमा प्रधानमन्त्री,अर्थमन्त्री र सचिवहरुसहित बसेर छलफल गरिरहेका छौं । यो अराजकतालाई रोक्न सकेनौं भने सोचे अनुसारको कर्जाको माग हुने र कर्जा प्रवाह हुने अवस्था छै्रन । यसले एक किसिमबाट ठूलो बैंकिङ प्रणालीमा मनोबल गिराउने काम गरिरहेको छ । बैंकका कर्मचारीहरुलाई कालो मोसो दल्ने,बैंकबाट निस्कने बित्तिकै कारबाही गर्ने समूहहरु देखिएका छन् । बैंकिङ उद्योगलाई धरासायी बनाउन पाइयो भने अरु खालका राजनीति जाँसिएको देख्छु । उद्देश्य परिपूर्ति गर्ने उद्देश्यले बैंकिङ क्षेत्र र नियमन निकायलाई समेत कमजोर बनाउने गरी धाराप्रवाह रुपमा आक्रमण भइरहेको अनुभुति भइरहेको छ । बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाएपछि अन्य कुराहरु कमजोर हुँदै जान्छ । अर्थतन्त्र कमजोर हुँदै जान्छ । जसबाट स्वार्थपूर्ति गर्ने दाउ हुनसक्छ । यसलाई राज्यको तर्फबाट कानूनको परिधिभित्र ल्याउनु आवश्यक छ । त्यस्तो भए यस्ता सबै कुराहरु करेक्सन हुन्छन् । कतिपय व्यक्तीहरु कानून भन्दा माथि र पर गएर गतिविधि गर्छन् । त्यो क्षेत्रमा काम गर्नेहरुले मनोवल गिराउनुपर्ने हुन्छ । अहिलेको अवस्था त्यो पाटबाट गइरहेको छ ।’गभर्नर अधिकारीले बैंकका नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले बैंकर्सहरुलाई पक्राउ गरेको सन्दर्भमा अन्य बैकर्सहरु आतंकित हुनुपर्ने अवस्था नभएको बताउनु भयो । उहाँले केन्द्रिय अनुसन्धान ब्यरोसँग राष्ट्र बैंकले बैंकका कर्मचारी पक्राउ सम्बन्धमा सोधपुच्छ गर्दा सहकारीको अनुसन्धानको क्रममा पक्राउ गरिएको बताएको जानकारी दिनुभयो । उहाँले राष्ट्र बैंकले बैंकमा भएरको अनियमिताका विषयमा अनुसन्धान गरी कारबाही गर्ने गरेको बताउनु भयो । उहाँले अहिले प्रहरीले गरिरहेको अनुसन्धानलाई सबैले सहयोग गर्नुको विकल्प नभएको बताउनु भयो । उहाँले बंैकर्सहरु दोषी ठहर नभएर बाहिर आउने दोषी भए कानून अनुसार सजाय भोग्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो । उहाँले केही साथीहरु पक्राउ परेभन्दैमा बंैकर्सहरु आंतकित हुन नहुने बताउनु भयो । उहाँले बैंकिङ क्षेत्र निक्षेपकर्ताको रकमबाट चल्नु भएकाले स्रोतको दुरुपयोग हुनेगरी कसैले पनि रकम चलाउन नहुने धारणा राख्नुभयो ।उहाँले भन्नुभयो,‘प्रमुख कार्यकारी अधिकृतहरुलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्य्रोले पक्राउ गरेको विषय छ । नेपाल प्रहरीसँग पनि छलफल गरौं । कस्तो किसिमले पक्राउ गरियो भन्दा राष्ट्र बैंकले रिफर नगरी गर्न सकिन्छ । राष्ट्र बैंकले छुट्टै अनुसन्धान गर्छ । तर प्रहरीले अहिले सहकारीको अनुसन्धान गरिरहेका रहेछ । सहकारीको छानविन गर्दा लहरोमा बैंकर्सहरु पक्राउ पर्नुभएको रहेछ । प्रहरीले यस्तो छानविन गर्दा त्यहाँ पुगेका हौं भन्नुभयो । तर यसले बैंकका कर्मचारीहरुको आत्मबल कमजोर बनाउने काम गरेको छ । छानविन नगरी यस्तो नगरिदिन भनेपछि सबै छानविन गरेर पक्राउ गरिएको भन्नुभयो । तर बैंकर्सहरु आत्तिनु पर्दैन सबैले छानविनमा सहयोग गर्न आवश्यक छ । कुनै कसुर नभए उहाँहरु निस्कि हाल्नुहुन्छ । गल्ति गर्नुभएको भए कानून अनुसारको सजाय भोग्नुपर्छ । बाहिर काम गरिराख्नु भएकाहरुले यसबाट आत्तिने आतंकित हुने हुनुहुँदैन । सरकारको अंग भएकाले सरकारको अर्को अंगले गरिरहेको छानविन सहयोग गर्नु कर्तव्य हो । यति मात्रै हो गल्ती नगर्ने फस्नुभएन गल्ती गर्नेले सजाय पाउनुपर्छ । बैंकिङ क्षेत्र निक्षेपकर्ताको रकमबाट चल्ने हो । स्रोतको दुरुपयोग हुने गरी रकम चलाउनु भएन । त्यही कारणले छानविनलाई सबैले सहयोग गर्नुपर्छ । थप आंतकित कोही कसैलाई पार्नु हुँदैन ।’गभर्नर अधिकारीले नेपालको बैंक वित्तीय संस्थाको अवस्था अहिले दक्षिण एशियामा नै सुरक्षित र पारदर्शी रहेको दाबी गर्नुभयो । उहाँले बैंकहरुसँग क्यापिटल इक्विटी सूचकलाई सुरक्षितको रुप हेर्न सकिने बताउनु भयो । गभर्नर अधिकारीले बैंकहरुको कोर पुँजी ८ प्रतिशत भन्दा माथि रहेकाले पनि नेपाली बैंकहरु सुरक्षित रहेको बताउनु भयो । उहाँले केही बैंकहरुलाई भने कोर पुँजीको दबाब रहेको भन्दै लोन पोर्टफोलियो बढाउनको लागि क्यापिटल बढाउनुपर्ने स्थिति रहेको बताउनु भयो । उहाँले पछिल्लो समय बैंकहरुसँग लगानी गर्ने ६ खर्ब रुपैयाँको तरलता रहेको उल्लेख गर्नुभयो । उहाँले बैंकहरुको पछिल्लो समय कर्जाको गुणस्तर कमी आएको बताउनु भयो । उहाँले बैंकहरुको खराव कर्जा (एनपीए) ३.४० प्रतिशत पुगेको उल्लेख गर्नुभयो । उहाँले बैंकहरुको खराब कर्जा बढ््नमा समग्र बजारको अवस्था,अर्थतन्त्रमा शिथिलता,रिपेमेन्ट कमी, ऋणको आम्दानी क्षमता कमी र बजारमा आएका अनावश्यक हल्ला ऋण नतिरे पनि हुन्छ भन्ने अराजक अभिव्यक्तिहरु र असम्भव आश्वासनहरु भएको दाबी गर्नुभयो । उहाँले यसको असर प्रत्येक्ष रुपमा कर्जा प्रवाह र कर्जा असुलीमा पनि असर परेको बताउनु भयो ।उहाँले भन्नुभयो,‘नेपालको बैंक वित्तीय संस्थाको अवस्था अहिले दक्षिण एशियामा नै सुरक्षित र पारदर्शी प्रणाली रहेको छ । क्यापिटल इक्विटीलाई सुरक्षितको रुप हेर्न सकिन्छ । कोर पुँजी ८ प्रतिशत रहेकाले छ भने केही बैंकहरुलाई यसको दबाब रहेको महशुस गरेका छौं । लोन पोर्टफोलियो बढाउनको लागि क्यापिटल बढाउनुपर्ने स्थिति छ । बैंकहरुसँग लगानी गर्ने ६ खर्ब रुपैयाँको तरलता छ । ६ खर्ब रुपैयाँ लगानी गर्नसक्ने क्षमता छ । बैंकहरुको अर्को महत्वपूर्ण सूचक एनपीए कर्जाको गुणस्तर हो । जुन कर्जाको गुणस्तर खस्केको छ । बैंकहरुको खराव कर्जा (एनपीए) ३.४० प्रतिशत पुगेको छ । खराब कर्जा बढ््नु कारण समग्र बजारको अवस्था,अर्थतन्त्रमा सिथिलता,रिपेमेन्ट कमी, ऋणको आम्दानी क्षेमता कमी र बजारमा आएका अनावश्यक हल्ला ऋण नतिरे पनि हुन्छ । अराजक अभिव्यक्तिहरु र असम्भव आश्वषणहरु बजारमा फैल्याएर ऋण नतिर्दा पनि हुन्छ । मैले मात्रै दिँदा अरुले नतिरे पनि हुने अवस्था आयो भन्ने जस्ता मानसिकताको कारणले ऋण उठेको छैन । जुन गलत छ । त्यसले प्रत्येक्ष रुपमा कर्जा प्रवाह र कर्जा असुलीमा पनि असर गरेको छ । यसरी बैंकहरुको कर्जा गुणस्तर कमजोर हुने अवस्था देखिएको छ । बैंकहरु सबल र सुरक्षित छन् । बचतकर्ताहरुले बचत गरेको निक्षेप भन्दा ३ गुणा बढी बैंकहरुसँग लिक्विटी सम्पतीको रुपमा छ । राष्ट्र बैंकको नियमन र नियन्त्रण अन्तराष्ट्रिय स्तरकै छ । अरु देशको सूचक हेर्दा हाम्रो देशका बैंकहरुको सूचक राम्रो पाउँछौं । तर आन्तरिक परिस्थितिले गर्दा कँही अफ्ठ्राहरु देख्छौं । बैंकिङ क्षेत्रको सवलतालाई हेरेर विदेशी बैंक र फाइनान्सहरुले नियमित रुपमा फाइनान्स गरिरहेका छन् । राम्रोसँग ऋण दिएरहेका छन् । हाम्रो बैंकिङ प्रणालीमा समस्या भए ऋण दिँदै दिँदैनन् । उनीहरुले अहिले पनि हाम्रा वित्तीय संस्थाहरुलाई ऋण दिइरहेकाले पनि नेपालका बैंकहरु र प्रणाली सवल छन् भन्न सकिन्छ ।’उहाँले वचतकर्ताहरुले बचत गरेको निक्षेप भन्दा ३ गुणा बढी बैंकहरुसँग लिक्विटी सम्पती रहेकाले डराउनु पर्ने अवस्था नभएको बताउनु भयो । उहाँले राष्ट्र बैंकको नियमन र नियन्त्रण अन्तर्राष्ट्रिय स्तरको रहेको भन्दै अरु देशको सूचक हेर्दा हाम्रो देशका बैंकहरुको सूचक राम्रो रहेको बताउनु भयो । उहाँले बैंकहरुको आन्तरिक परिस्थितिले कँही अफ्ठ्राहरु देखापरे पनि समाधान हुने अवस्था रहेको बताउनु भयो ।