
काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा वैशाख २९ गतेभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ ।गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षाको नतिजा एक महिनाभित्र प्रकाशित गर्न सरकारबाट निर्देशन आएपछि परीक्षा नियन्त्रण कार्यालयले अन्तिम चरणको काम तीव्र बनाएको जनाएको छ ।परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार हाल ३० देखि ३५ जना कर्मचारीमार्फत टेबुलेसनको काम भइरहेको छ । उनले सरकारले तोकेको समयसीमाभित्रै नतिजा सार्वजनिक हुने बताएका छन् ।यस वर्ष एसइई परीक्षामा ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए । यो वर्ष पहिलो पटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण गरिएको थियो ।व्यवस्थाअनुसार हरेक दिन परीक्षा सकिएलगत्तै उत्तरपुस्तिका परीक्षण गरिएको थियो भने प्रत्येक तेस्रो दिनमा प्राप्तांक जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा पठाइने व्यवस्था गरिएको थियो । साथै, परीक्षा सम्पन्न भएको चौथो दिनमै विद्यार्थीको प्राप्तांक परीक्षा नियन्त्रण कार्यालयमा आइपुग्ने गरी व्यवस्थापन गरिएको थियो ।



























