काठमाडौं । नीता फिल्म्सको नयाँ फिल्म ‘ह्रस्वदीर्घ’मा दक्षिण भारतीय अभिनेता सुनिल बर्मा अनुबन्धित भएका छन् । नेपाली बक्स अफिसमा समेत ब्लकबस्टर बनेको फिल्म ‘पुष्पा’ फेम्ड अभिनेता बर्माले नेपाली फिल्ममा डेब्यु लागेका हुन् ।अभिनेता बर्मालाई अनुबन्धित गरिएकोबारे निर्मात्री एवं अभिनेत्री नीता ढुंगानाले अनलाइनखबरसँग भनिन्, ‘उहाँले सजिलै प्रस्ताव स्वीकार्नुभयो । उहाँ भिलेन चरित्रमा देखिनुहुनेछ ।’तेलुगू स्टार बर्माले करिअरमा १७७ फिल्ममा अभिनय गरेका छन् । मर्यादा रमन्ना, पुल रंगाडु, तड्का उनका व्यावसायिक रुपमा सफल फिल्म हुन् । ‘ह्रस्वदीर्घ’मा बर्माले नेपाली भाषामा स्वरांकन गर्नुपर्ने छ । उनलाई नेपाली भाषामा पोख्त बनाउन प्रयत्न गर्ने जानकारी नीताले दिइन् ।८ करोड रुपैयाँ बजेट बताइएको फिल्ममा बलिउड अभिनेता प्रकाश प्रदीप रावत पनि कास्टको रुपमा छन् । नीता र अभिनेता हरिहर अधिकारीसहित सलोन बस्नेत, सरोज खनाल पनि मुख्य भूमिकामा हुनेछन् । थप तीनजना कलाकारलाई अनुबन्ध गर्न बाँकी छ ।
आगामी दशैंलगत्तै छायांकनमा जाने तयारीमा रहेको फिल्मले तन्नेरी युवायुवतीको प्रेमकथा पेश गर्छ । मूलतः नेपाली भाषामा बन्ने ‘ह्रस्वदीर्घ’ हिन्दी भर्सनमा पनि हुनेछ ।