काठमाडौं । पछिल्लो समय एकाएक चर्चामा आएको काठमाडौंबाट नजिकै पर्ने उत्कृष्ट गन्तव्यका रूपमा लिइएको छ। यतिबेला नुवाकोटको लौके झरनामा आन्तरिक र बाह्य पर्यटक भित्रिने क्रम जारी रहेको छ । त्यसैगरी शिवपुरी गाउँपालिका–८ र ककनी गाउँपालिका–५ को सीमामा पर्ने यो झरनाको लम्बाई करिव १२० मीटर रहेको र यो संगै संगै अर्काे सानो झरना पनि अवस्थित छ । । झलक्क हेर्दा लौका आकारको देखिने भएकाले अचेल यसलाई लौके झरना पनि भनिएको स्थानीय बताउँछन् ।काठमाडौं देखि ३२ किलोमिटरको दुरीमा रहेको लौके झरनासम्म जान अहिले निकै सजिलो भएको छ | टोखा, गुर्जे , थान भन्ज्यांग , चापाबोट , बोरे खोला हुदै घट्टेखोलाबाट सानीपिपल हुँदै तीन किलोमिटर सडकबाट ढोडिनी पुग्न सकिने र हाल ढोडिनी सम्म चारपाङ्ग्रे सवारीसाधन पुग्ने बाटो बनेको छ। ढोडिनीबाट झरनासम्म आठ सय मिटर पदमार्ग निर्माण गरिएको छ । गाउँपालिकाको कटिबद्धता, विभिन्न निकायको सहयोग र जनश्रमदानका कारण छोटो अवधिमै पदमार्गमा ढलान र आवश्यक सिँढीहरू निर्माण सम्पन्न भई यात्रीका लागि विश्रामस्थल समेत रहेको छ |झरना नजिकै ककनी पट्टी सिम्ले गाउँ छ। त्यसैगरी वारीपट्टी थानापति गाउँ छ। झरना वरपरका गाउँमा तामाङ, लामा र ब्राम्हण समुदायको बसोबास छ। गाउँको बिचमा रहेको थानापति देवीको मन्दिरमा मंसिरे पूर्णिमाका दिन मेला पनि लाग्दछ । अहिले हालसालै स्थानीयले झरना नजिकै सानपिपलेमा (लौके) झरना रिसोर्ट पनि चलाएका छन्। रिसोर्टमा खाना खाजा तथा बस्ने सुविधा मिलाएका छन् । झरना हेर्न आउने आन्तरिक पर्यटकहरूका कारण स्थानीयहरूको स्थानीय उत्पादन बिक्रीवितरण हुनुका साथै व्यापार व्यवसाय बढ्दा स्थानीयको आयस्रोतको केन्द्र लौके झरना बनेको छ |झरनामा रमाउँदै जाँदा स्वर्गमा आएको जस्तो महसुस हुन्छ । झरनामा सबैभन्दा रमाइलो पक्ष भने त्यहाँबाट पानी खसिरहेको बेला लाग्ने सप्तरंगी इन्द्रेणीले सबैलाई मन्त्रमुग्ध गराउँछ । त्यो इन्द्रेणीले लौके झरनाको सुन्दरतालाई झनै आकर्षित बनाउँछ । झरनाबाट टाढा बसेर फोटो खिच्रदा र टिकटक बनाउँदा पनि मानिस निथु्रक्क हुने गर्दछन । यो ठूलो झरनाबाट बगेको पानी र यसको सँगै रहेको अर्को सानो झरनाले बनाएको दहमा युवायुवती रमाउँदै नुहाउने गर्दछन । दिउँसोतिर काठमाडौंबाट धेरै युवायुवती यहाँ पुग्ने भएकाले निकै भीडभाड हुने गरेको छ । बिहानै जाने हो भने हाइकिङको आनन्द प्रचुर मात्रामा लिन सकिन्छ ।वन र भिरको बीच भागमा रहेको सानो छहरे र ठूलो छहरे झरनामा करिब १० वर्षअघि नेपाल क्यानोनिङ सङ्घबाट क्यानेनिङ सञ्चालन गरिएपछि यसको पर्यटकीय पहिचान उजागर भएको थियो । अहिले पदमार्ग र विश्रामस्थलको निर्माणले झरनाप्रति थप आकर्षण बढेको छ ।काठमाडौँबाट झरनासम्म पुग्न हराभरा हरियाली डाँडा त्यसमा पनि नुवाकोटका परिश्रमी किसानले लगाएका विभिन्न तरकारीका फर्महरू बाटैभरि देख्न सकिन्छ ।लौके झरना जानका लागि उपयुक्त मौसम भदौ असोज हो । किनभने यस सिजनमा झरनामा पानीको मात्र धेरै हुन्छ । हाइकिङ तथा दृश्यावलोकनका लागि भने अरू महिनामा पनि जान सकिन्छ । लौके झरना जानका लागि सार्वजनिक बसको सुविधा पनि छ । आफ्ना सवारी साधन लिएर पनि जान सकिन्छ । जंगलको मूल बाटो पूरै ढलान भएकाले सुविधाजनक रहेको छ ।