जापानका विदेशमन्त्री खामिखावा योको र उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।आइतबार नै काठमाडौं आइपुग्नुभएका जापानका विदेशमन्त्री खामिखावा योको सहितको उच्चस्तरीय प्रतिनिधि मण्डल र परराष्ट्रमन्त्री श्रेष्ठसहितको नेपाली प्रतिनिधि मण्डलबीच सिंहदरबारमा द्विपक्षीय भेटवार्ता भएको हो ।भेटवार्ताका क्रममा जापानलाई पुरानो असल मित्रका साथै ठूलो विकास साझेदारका रुपमा लिएकाले द्विपक्षीय सम्बन्धलाई सुदृढ र विस्तार गर्नका लागि सवै पक्षहरुमा छलफल भएको परराष्ट्रमन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।उहाँले नेपाल र जापानबीचको द्विपक्षीयसम्बन्धलाई थप मजबुत बनाउने र आर्थिक सहयोगात्मक सम्बन्धलाई फराकिलो बनाउनेसम्बन्धमा छलफल भएको बताउनुभयो ।जापानी विदेशमन्त्री खामिखावाको औपचारिक सद्भाव भ्रमणभएकाले वार्तामा कुनै पनि विषयमा सम्झौता वा समझदारी नभएको उहाँले स्पष्ट पार्नुभयो । विदेशमन्त्री खामिखावा उपप्रधानमन्त्री श्रेष्ठको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि आइतबार नै काठमाडौं आउनुभएको हो ।