
काठमाडौं ।प्रतिनिधिसभाका सांसदहरुले नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा बससहित बेपत्ता भएका यात्रुहरुको खोजीकार्यलाई तीव्रताका साथ अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।प्रतिनिधिसभाको शुक्रबारको बैठकको आकस्मीक समयमा उनीहरुले नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुईवटा बस त्रिशूली नदीमा खसाएर करिब पाँच दर्जन यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्दै खोजी कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका हुन् । साथै उनीहरुले मनसुन अवधिभर जोखिमयुक्त सडकखण्डमा रात्रीबस सञ्चालनमा रोक लगाउनुपर्ने जनाएका छन् ।सांसद शंकर भण्डारीले भारी बर्षका कारण तराइ क्षेत्रमा डुवान र पहाडी क्षेत्रमा पहिरो जाने क्रम जारी रहेकाले सिंगो सदन एक भएर नेपाली नागरिकको जीवन रक्षाका लागि जुट्नुपर्ने बताउनुभयो । उहाले चितवनमा भएको घटनाप्रति दुख व्यक्त गर्दै खोजी कार्यलाई तीव्रता दिन आग्रह गर्नुभयो ।त्यस्तै सांसद प्रभु साहले नारायणगढ–मुग्लिन सडकखण्डमा बस बेपता भएपछि सिंगो मुलुक स्तव्ध भएको बताउनुभयो । बस र यात्रुको अवस्था र उद्दारको कामका बारेमा सरकारले जवाफ दिनुपर्ने उहाले बताउनुभयो । उहाले सो क्षेत्रमा हरेक बर्ष पहिरो जादा पनि राज्यले ध्यान नदिदा यस बर्ष पनि दुखद घटना घटेको उल्लेख गर्नुभयो ।त्यस्तै सांसद अमेरशकुमार सिंहले मनसुनको अवस्थामा रात्री बस सञ्चालनमा रोक लगाएको भए अहिलेको घटना नहुने जिकिर गर्नुभयो ।त्यस्तै सांसद राजेन्द्र पाण्डेले सिमतालमा बेपत्ता भएका यात्रुहरुको खोजी कार्य राम्रो संग हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाले भाद्र १५ सम्म रात्रीबस सञ्चालनमा रोक लगाउनुपर्ने बताउनुभयो




























