
काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपालमा सुर्ती गुट्खा र सो सम्बन्धी कच्चा पदार्थको निर्यात विवरण माग गर्ने निर्णय गरेको छ ।सिंहदरबारमा बसेको समिति बैठकले नेपालमा आयात हुने सुर्ती गुड्का लगाएत कच्च पदार्थको यकिन विवरण समितिमा पेश गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले चुरोटमा प्रयोग हुने बिभिन्न फ्लेवर, क्याप्सुल जस्ता नशालू पदार्थका कारण स्वास्थ्यमा गम्भीर समस्या हुने भएकाले त्यस्ता पदार्थको आयातका साथै उत्पादन र प्रयोगमा समेत रोक लगाउन मन्त्रालयलाई निर्देशन दिएको छ भने सुर्तीजन्य पदार्थको प्रयोगबाट जनस्वास्थ्यमा पर्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न स्वास्थ्य मन्त्रालयलाई सुझाव दिने निर्णय गरेको समिति सभापति अव्दुल खानले जानकारी दिनुभयो ।बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नयाँ सरकार गठन भएसंगै मन्त्रालयले गरेका कामहरुको बिबरण समय–समयमा सार्वजनिक गरिने बताउनुभयो ।मन्त्रालयभित्र समस्यामा रहेका बिषयलाई निर्मम ढंगले छलफल गरेर निष्कर्षमा पुराउने उहाले प्रतिवद्धता जनाउनुभयो । मन्त्री भण्डारीले उद्योगीहरुको समस्या समाधान गर्न हड्तालमुक्त, लोडसेडिङमुक्त बनाउने नीतिका साथ अघि बढ्ने जिकिर गर्नुभयो ।बैठकमा चिनी उद्योग तथा उखु किसानहरुका समस्या समाधान सुझाव उप समितिको प्रतिवेदन र स्पञ्ज आइरन, विलेट्सको भन्सार महशुल, अन्तःशुल्क तथा उद्योगहरूको अध्ययन अनुगमन उप समितिको प्रारम्भिक प्रतिवेदन पेश गरिएको थियो ।




























