काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले २ वर्षका लागि बनाइएको सिसडोल ल्याण्डफिल साइटमा १७ वर्ष फोहोर फालेको बताएकी छिन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै झाँक्रीले थोरै समयका लागि बनाइएको ल्याण्डफिल साइटमा वर्षौसम्म निरन्तर फोहोर विसर्जन गरिएको बताएकी हुन् ।सिसडोलमा २ वर्षका लागि ल्याण्डफिल साइट बनाइएको थियो । त्याहाँ १७ वर्ष फोहोर खसाइयो,’ मन्त्री झाँक्रीले भनिन्, ‘यसको विकल्पमा बञ्चरेडाँडामा स्थायी ल्याण्डफिल बनाउने भनेर काम भइरहेपनि अघि बढ्न सकेन ।’ स्थानीयको विरोधले स्थानीय तहका जनतासँग सम्झौता गरेर बञ्चरेडाँडाको काम अघि बढाइएको उनले बताइन् ।यद्यपी, अब बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा वैज्ञानिकरूपले फोहोर विसर्जन हुन्छ । ‘काठमाडौंमा दैनिक १२ सय मेट्रिक टन फोहोर निस्कन्छ । त्यसलाई विसर्जन गर्न थप जनशक्ति र खर्च लाग्छ,’ मन्त्री झाँक्री भन्छिन्, ‘बञ्चरेडाँडामा फोहोर विसर्जन गर्ने गरी काम अघि बढिसकेको छ ।’