बुटवल । सचेत नेपाली पार्टीले नेपालकै औधोगिक नगरी वुटवल उप–महानगरपालिका, तिलोत्तमा नगरपालिका र सिद्धार्थ नगरपालिकामा मेयर सहित नगरका विभिन्न वडामा उम्मेद्वार घोषणा गरेको छ ।
बुटवल उपमहानगर पालिकाको मेयरमा उद्यमी तथा समाजसेवी खिमानन्द भण्डारी, तिलोत्तमा नगरपालिकाको मेयरमा युवा व्यवसायी देव बहादुर कार्की र सिद्धार्थ नगरपालिकाको मेयरमा व्यवसायी शम्भुराज विस्टलाई उम्मेद्वार घोषणा गरेको छ । त्यस्तै बुटवल उपमहानगर पालिका वडा ६ को वडाध्यक्षमा गोरखनाथ चौधरी र तिलोत्तमा नगरपालिका वडा नम्बर ४ को वडाध्यक्षमा कृषि व्यवसायी प्रदिप ढकाललाई उम्मेद्वार घोषणा गरेको छ ।उम्मेद्वार घोषणा सभामा सचेत नेपाली पार्टीका अध्यक्ष पुण्यप्रसाद प्रसाईले भने, यहाँ बुद्धले पाइला टेक्नु भएको थियो भनेका भरमा विश्वका कति राष्ट्रले विश्वका बौद्ध धर्मावलम्बीलाई आफ्नो देशमा भित्र्याएर बेसुमार पर्यटनको विकास गरेका छन् । यही पारीपटि नक्कली बुद्ध जन्मभूमि बनाएर दुनियाँलाई ठगेका छन् तर हामी नेपालीले इमानदार नेतृत्व नपाएको कारण भगवान बुद्धको जन्मस्थल लुम्बिनी जस्तो पवित्र क्षेत्र पाएर पनि विश्वका करोडौं बौद्ध मार्गी पर्यटकलाई लुम्बिनी उतानै सकेका छैनौं । यहाँको अव्यवस्थित बस्तीको व्यवस्थापन गरेर बुद्धको ज्ञानको प्रचार गरेर हामी यस क्षेत्रलाई विश्वकै पवित्र, स्वच्छ, शान्त र खुशी स्थलमा रुपान्तरण गर्न सक्छौं ।’ अध्यक्ष प्रसाईले वुटवल उपमहानगरपालिकाको महत्व बुझाउँदै अगाडि भने, ‘वुटबल यस्तो औधोगिक नगरी बन्न सक्छ जसले केवल रुपन्देहीको मात्र होइन पूरा नेपालको बेरोजगारी हटाउन सक्छ । यदि यस जिल्लाका सबै नगरमा सचेत नेपाली पार्टीले जित्ने हो भने हामी रुपन्देहीलाई धन र धर्म जोड्ने महान् स्थलमा परिणत गर्न सक्छौं ।’उम्मेद्वार घोषणा कार्यक्रममा सचेत नेपाली पार्टीका लुम्बिनी प्रदेशका प्रवक्ता तथा रुपन्देही जिल्ला संयोजक भेषराज बेलबासेले भने, ‘लुम्बिनी देखाएर यहाँ पुराना पार्टीले धेरै दोहन गरे । तिनीहरुले भगवान बुद्ध र लुम्बिनीलाई आफ्ना भरौटे कार्यकर्ताको पेट पाल्ने अखडा बनाएका छन् । यहाँका नगरपालिका र उपमहानगर पालिकामा सचेत नेपाली पार्टीले जित्यो भने हामी रुपन्देहीलाई धार्मिक पर्यटनको केन्द्र र वुटवललाई औधोगिक नगरीको रुपमा विकास गरेर यहाँको बेरोजगारी पूर्ण रुपमा हटाउँछौं ।’बुटवल उपमहानगरपालिकाको मेयर पदका प्रत्यासी खिमानन्द भण्डारी देशका प्रमुख राजमार्गहरु महेन्द्र राजमार्ग तथा सिद्धार्थ राजमार्ग को संगम स्थलमा रहेको यस बुटवल उप-महानगरपालिकालाई आफुले विकासका विभिन्न कार्यक्रम रहेको बताए । उनले यसउपमहानगर पालिकालाई महानगरको रुपमा विकास गर्नका काम गर्ने बताए । आफूले सरकारी गाडि प्रयोग नगर्ने र त्यसको साटो नगरबासीको लागि निशुल्क एम्बुलेन्सहरू समेत उपलब्ध गराउने प्रतिबद्धता जनाए । महानगरबासीलाई निशुल्क स्वास्थ्य,शिक्षा र खानेपानी र ३०० युनिटसम्मको बिजुली निशुल्क वितरण गर्ने समेत प्रतिबद्धता जनाए । सुन्दर,सफा एंव व्यवस्थित शहर बनाउने योजना रहेको समेत बनाए ।तिलोत्तमा नगरपालिकाको मेयर पदका प्रत्यासी देव बहादुर कार्कीले 'तिलोत्तमा नगरमा एकीकृत बस्ती विकास, योजनाबद्ध सहरीकरण, आधारभूत भौतिक सुविधाको उपलब्धता आदिको उचित व्यवस्थापन गर्न सकिने प्रशस्त आधारहरू रहेका छन् । पुराना सहरहरूले भोगिरहेका समस्यालाई शिक्षाका रूपमा लिँदै यस नगरमा रहेका विशिष्ट सम्भावनाहरूको गम्भीरतापूर्वक अध्ययन गरेर दीर्घकालीन योजनाका साथ अगि बढेर यस नगरको समुज्ज्वल भविष्य बनाउने आफ्नो योजना रहेको समेत बताए ।'सिद्धार्थनगर नगरपालिकाका मेयर पदका प्रत्यासी शम्भुराज विस्टले 'सिद्धार्थनगर नगरपालिका नेपाल र भारतको सिमानामा पर्ने मुख्य प्रवेशद्वारहरु मध्य एक महत्वपूर्ण पर्यटकीय, व्यापारीक र औद्योगिक केन्द्रको रूपमा स्थापित गर्न सकिन्छ। भगवान गौतम बुद्धको बाल्यकालको नाम सिद्धार्थ बाट यस नगरपालिकाको नामाकरण गरिएको छ । सांस्कृतिक परम्परा र मान्यताहरू साहित्य, भाषा, कला, धर्म, सस्कृतिको साझा संगमको रुपमा यस नगरपालिकालाई विकास गर्ने योजना रहेको बताए ।
शिक्षा, स्वास्थ्य, ३०० युनिटसम्म बिजुली र निशुल्क खानेपानीको व्यवस्था समेत गर्ने उनले बताए । साथै यसनगरमा विश्व भरिका बुद्धिस्टलाई भित्राउनका लागि समेत काम गर्ने विशेष योजना रहेको बताए ।'सचेत नेपाली पार्टी आफुले जित्ने हरेक पालिकामा निशुल्क स्वास्थ्य,शिक्षा र खानेपानी र ३०० युनिटसम्मको बिजुली निशुल्क वितरण गर्ने समेत प्रतिबद्धता जनाएको छ । साथै हाल विश्वमा बढ्दै गएको वातावरण प्रदुषणलाई कम गर्न ईलेक्ट्रिक गाडी समेत सञ्चालन गर्ने जनाएको छ ।सर्वपहिचानवाद, नागरिक समाजवाद र न्यायीक समतावादको नयाँ वैचारिक दर्शन बोकेर आएको सचेत नेपाली पार्टीको चुनाव चिन्ह सिंह हो ।