
काठमाडौँ ।हिंसा’ शव्दका कारण प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा हिंसा शव्दलाई लिएर माओवादी र एमाले सांसदबीच वाद–विवाद भएपछि बैठक अवरुद्ध भएको हो । बैठकमा सभामुख देवराज घिमिरेले केहि दिन अघि सदनमा एमाले सांसद योगेश भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय नभएको भन्दै रेकर्डबाट हटाउन नपर्ने निष्कर्ष सुनाउनुभएको थियो । साथै उहाले संसदमा प्रतिकात्मक शब्द प्रयोग गर्दा पनि नियमापत्ति गर्ने र बहस हुने गरेकाले शब्द चयनमा सचेतता अपनाउन रुलिङ गर्नुभएको थियो ।तर सभामुखको रुलिङप्रति माओवादीले आपत्ति जनायो । माओवादी प्रमुख सचेतक हितराज पाण्डेले संविधानमै जनयुद्ध र जनआन्दोलनको व्याख्या गरिएको भन्दै हिंसा भन्ने शब्द संविधान र कानुन विपरित भएको जिकिर गर्नुभयो । शान्तिप्रक्रिया र कानूनबिपरित शव्द चयन नगर्न उहाले सुझाव दिनुभयो ।त्यसपश्चात एमाले सांसद रघुजी पन्तले हिंसा भन्ने शव्द असंसदीय नभएको भन्दै सभामुखको रुलिङमा प्रश्न उठाउने ठाउ नरहेको बताउनुभयो ।पन्तले धारणा राखेपछि माओवादी सांसदहरु थप अन्सन्तुष्ट भएका थिए । उनीहरुले उठेरै हिंसा शव्दप्रति आपत्ती जनाएका थिए । सभामुख घिमिरेले बसेर सभा सञ्चालनका लागि सहज वातावरण बनाउन आग्रह गरेपनि दुईपक्षीबीच वादविवाद भएपछि पुनः माओवादी प्रमुख सचेतक पाण्डेलाई बोल्न समय दिइएको थियो । पाण्डेले हिंसा शव्दका बिषयमा भएको व्याख्या स्वीकार्य नहुने भन्दै आपत्ति जनाउनुभयो ।पाण्डेले बोलेपछि समय पाउनुभएका एमाले प्रमुख सचेतक महेश बर्तौलाले हिंसा अन्त्य गर्ने भनेर तत्कालिन समयमा माओवादी अध्यक्ष प्रचण्डले नै हस्ताक्षर गरेको तर्क गर्नुभयो । संविधानले सशस्त्र द्वन्द्व भनेपनि हिंसाको क्रममा जघन्य अपराध भएको समेत उहाले आरोप लगाउनुभयो ।बैठकमा सभामुख घिमिरेले बहसले निष्कर्ष निस्कन नसक्ने भएकाले आसन ग्रहण गरेर नियमित ढंगले अघि बढाउन आग्रह गरेपनि माओवादी सांसदहरुले हिंसा शव्दको प्रतिवाद गरिरहे । आफुले पटक पटक आग्रह गर्दा पनि सभासञ्चालनका लागि सहयोग नभएको भन्दै सभामुख घिमिरेले बैठक भदौ ३० गते सम्मका लागि स्थगित गर्नुभएको थियो ।




























