
काठमाडौं । नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाले गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनलाई आफूले मान्यता नदिएको बताएका छन् । कांग्रेसको इतरपक्षको राष्ट्रिय भेलाको बन्द सत्रमा बोल्दै देउवाले पार्टीको सहमतिबिना जबरजस्ती विशेष महाधिवेशन गरिएको दाबी गरे ।विशेष महाधिवेशनविरुद्ध आफूहरूले अदालतमा मुद्दा दायर गरेको उल्लेख गर्दै देउवाले अदालतको पूर्ण निर्णय आउन बाँकी रहेकाले यसबारे अहिले धेरै टिप्पणी नगर्ने बताए । उनले अदालतप्रति आफूलाई पूर्ण विश्वास रहेको र अदालतको निर्णय स्वीकार गर्ने स्पष्ट पारे ।देउवाले पार्टीको सहमतिबिना विशेष महाधिवेशन नगर्न आफूले आग्रह गरे पनि त्यसलाई बेवास्ता गर्दै महाधिवेशन गरिएको आरोप लगाए । उनका अनुसार विशेष महाधिवेशनमा धेरै कांग्रेस नेताकार्यकर्तालाई बाहिर राखिएको थियो ।‘मैले त्यो अधिवेशनलाई मानेको पनि थिइनँ । सबैलाई पार्टीको सहमतिमा विशेष महाधिवेशन गर्न भनेको थिएँ । भन्दा भन्दै जबरजस्ती विशेष महाधिवेशन गरियो र धेरै साथीहरूलाई बाहिर राखियो,’ देउवाले भने, ‘त्यसकै विरुद्धमा हामी अदालत गएका हौँ ।’उनले न्यायालयले विगतदेखि नै नेपाली कांग्रेसलाई न्याय दिँदै आएको दाबी गर्दै आफूलाई पनि अदालतप्रति पूर्ण विश्वास रहेको बताए । विशेष महाधिवेशनसम्बन्धी मुद्दामा पूर्ण फैसला आउन बाँकी रहेकाले अहिले नै थप टिप्पणी गर्न आवश्यक नरहेको उनको भनाइ थियो ।‘म व्यक्तिगत रूपमा हिन्दु हुँ’बन्द सत्रमा देउवाले धर्मका विषयमा पनि आफ्नो धारणा राखेका छन् । आफू व्यक्तिगत रूपमा हिन्दु भएको उल्लेख गर्दै उनले नेपालमा सबै धर्म मान्ने नागरिकलाई धार्मिक स्वतन्त्रता हुनुपर्ने बताए ।‘म हिन्दु हुँ । मेरो व्रतबन्ध हिन्दु संस्कारअनुसार भएको हो । जनै पनि हालेको छु । बिहे मैले गुह्येश्वरीमा हिन्दु रीतिरिवाजअनुसार गरेको हुँ । म व्यक्तिगत रूपमा पूरा हिन्दु हुँ,’ देउवाले भने ।नेपालको धार्मिक तथा राजनीतिक स्वरूपबारे निर्णय गर्ने अधिकार नेपाली जनतामै रहेको उनको भनाइ थियो । कुनै पनि नागरिकलाई आफ्नो धर्म मान्नबाट वञ्चित गर्न नहुने उनले बताए ।‘नेपाल के हुने, के नहुने भन्ने कुरा नेपाली जनताको हातमा छ । तर हिन्दुलाई हिन्दु हुन पाउँदैन भन्नचाहिँ पाइँदैन । म हिन्दु हुँ । त्यसकारण पशुपति पनि जान्छु, पशुपतिनाथको पूजा गर्छु,’ उनले भने ।देउवाले आफू बुद्ध धर्मप्रति पनि सम्मान र सद्भाव राख्ने बताए । बुद्धको जन्मभूमि नेपाल भएकाले बुद्ध धर्मप्रति आफ्नो विशेष सम्मान रहेको संकेत गर्दै उनले बुद्धिजमलाई विश्वले स्वीकार गरेको र वैज्ञानिक धर्मका रूपमा समेत चर्चा हुने गरेको बताए ।



























