
काठमाडौं । संविधान सभाबाट नयाँ संविधान जारी भएको ९ वर्ष पूरा भएको छ ।सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । संविधान दिवसको अवसरमा संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो ।कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली लगाएत सहभागी हुनुभएको थियो ।समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत बिभिन्न निकायबाट सांस्कृतिक झाँकी, गीत र नृत्य प्रस्तुत गरिएको थियो । संविधान दिवसलाई उत्सवका रूपमा मनाउने क्रममा सेनाको हेलिकोप्टरबाट संविधान तथा राष्ट्रिय दिवस २०८१ लेखिएको व्यानर प्रदर्शन गरेको थियो । त्यस्तै रङ्गीचङ्गी बेलुन र शान्तिका प्रतीक परेवासमेत उडाइएको थियो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गर्नुभएको थियो ।




























