सचेत नेपाली पार्टीको काठमाण्डौ महानगर पालिका मेयर र उपमेयर उम्मेद्वार घोषणा सभामा पार्टीका अध्यक्ष पुण्यप्रसाद प्रसाईले दिनु भएको वक्तव्य ।
सबैमा नमस्कार
मुलुक अहिले स्थानीय निर्वाचनको रस्साकस्सीमा छ । निर्वाचनमा ठूला पार्टी र तिनका उम्मेद्वारहरुले पैसा र पावरको दुरुपयोग गरेर नागरिकलाई भ्रमित पार्दै फेरि पनि नतिजा आफ्नो पक्षमा पार्ने लगभग पक्कापक्की जस्तो हुँदाहुँदै पनि हाम्रो सचेत नेपाली पार्टीले यस निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।
हामीलाई आफ्ना उम्मेद्वारको धरौटी राख्ने पैसाको समेत अभाव रहेको परिप्रेक्ष्यमा हामीले किन यस निर्वाचनमा भाग लियौं ? यो धेरैको प्रश्न रहेको छ ।
वास्तवमा यो निकै नै महत्वपूर्ण प्रश्न हो । हामीलाई राम्रैसँग थाहा छ हामी हार्छौ तर यो हार्ने युद्ध हामी किन लडिरहेका छौं ?
पहिलो कुरा त हामी हार्छौं तर हामी लड्न सिक्नेछौं । अहिले हामीले लड्न र भिड्न सिक्यौं भने अर्कौ निर्वाचनमा हामी जित्न सिक्ने छौं ।
दोस्रो, यस निर्वाचनमा हामी जित्न नसके पनि भ्रष्ट र बेइमान उम्मेद्वारलाई हराउनमा कारगार साबित हुन सक्छौं । हाम्रो उपस्थिति पुराना पार्टीका भ्रष्टलाई हराउनका लागि त्यो क्षेत्रमा रहेको औसत इमानदार उम्मेद्वारलाई जिताउनका लागि पनि हुनेछ । कति ठाउँमा हामी जित्न नसकौंला तर बल गर्यौं भने भ्रष्ट र बइमानलाई हराउन सक्छौं ।
मुख्य कुरा कुनै पनि नगरपालिका वा गाउँपालिकामा हामीले जित्यौं भने त्यो हामीले काम देखाउने सबैभन्दा राम्रो मौका हुनेछ । हामीले जितेको पालिकालाई हामी नमूना पालिका बनाएर देशैभरि एउटा नयाँ म्यासेज दिन सक्छौं ।
३० वर्षे निरंकुश पञ्चायती शासन विरुद्ध देशका जुझारु युवाले लडेर ल्याएको प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रलाई केही मुठ्ठीभर व्यक्ति र पार्टीले कब्जा गरे । केही पार्टीले पूरा राजनीति र सिस्टम नै कब्जा गरेर मुलुकको दोहन गरे । पञ्चायत कालमा दरबारबाट टोलसम्म पुगेको विकृति, विसंगति र भ्रष्टचार अर्को ३० वर्षमा यी गणतन्त्रवादी भनिएका पुराना दलले उसैगरी सिंहदरबारबाट गाउँसम्म पुर्याए ।
अहिले पुराना पार्टीहरु कम्युनिष्ट र कांग्रेसले देश पालैपिलो लुटिरहेका छन् । जसरी हुन्छ सत्ता प्राप्त गर्नु बाहेक यिनीहरुको कुनै विचारधारा र सिद्धान्त बाँकी रहेको छैन । यिनीहरुको लिडरशिपदेखि वडा सदस्य सम्मको एउटै उद्देश्य छ, पावर र पैसा । त्यसका लागि यिनीहरु जसरी पनि सत्ता चाहन्छन् । जसरी पनि जित्नु र जितेर देश दोहन गर्नु कर बढाएर नागरिकको ढाड सेक्नु यिनको उद्देश्य हो । विपी, पुष्पलाल र मदन भण्डारीको सिद्धान्त कुन चराको नाम हो यिनलाई थाहा छैन ।
अहिले पुराना पार्टीका व्यक्तिहरुलाई राजनीति भनेको देश लुट्ने लाइसेन्स जस्तो भएको छ । यस स्थानीय चुनावले फेरि तिनै भ्रष्टहरुलाई जनताको छाप लगाएर भ्रष्टचारको लाइसेन्सलाई प्रमाणीकरण गर्नेभन्दा बढ्ता केही पनि गर्ने छैन तथापि हामी सचेत नेपालीले एउटा आशाको दियो बाल्नु छ ।
गणतन्त्रवादी भनिएका पुराना पार्टीले देशका कर्मचारी, प्रहरी प्रशासन, अख्तियार र अन्य सबै आयोग र अदालतसमेत कब्जामा लिएर खुल्लम खुल्ला देश लटेको देखेपछि युवामा यिनीहरु प्रति तीव्र आक्रोश र भयानक फ्रस्टेसन जन्मेको छ ।
देशका नागरिकमा पलाएको यस फ्रस्टेसन र आक्रोशले बेइमानीको राजनीति मार्फत देशका सारा संयन्त्र कब्जा गरेर दुई हातले देश र जनता लुटिरहेका यी बेइमान गणतन्त्रवादीलाई चखाइदिने सोच बनाएको छ । जनताको यस तीव्र आक्रोशलाई पश्चगामी, कन्जरभेटिभ अति दक्षिणपन्थी शक्तिले उपयोग गर्न सक्ने खतरा पनि देशमा देखिएको छ । यदि हामी सचेत नेपाली गम्भीरतापूर्वक अघि बढेनौं भने यो देशका नागरिको स्थिति तावाको माछा उफ्रेर भुङ्ग्रौमा खस्ने परिस्थिति बन्दैछ । अर्थात् देश घुमिफिरी तीस वर्षदेखि गणतन्त्र र प्रजातन्त्रको नाममा लुट्नेहरुको हातबाट फेरि पञ्चायत कालमा ३० वर्ष लुट्नेको हातमा जानेछ । जुन यस देशका लागि झन अभिशाप जनताका लागि आत्मघाती हुनेछ ।
त्यो मण्डले संस्कृति मुलुकका लागि किन झन भयावह हुनेछ ? र देश जोगाउनका लागि अब हामी सचेत नेपाली किन सक्रिय हुनु पर्छ ?
पहिलो यस दक्षिणपन्थी मण्डले कन्जरभेटिभ शक्तिले फेरि पनि राजा जस्तो परिवारवादी शासन ल्याउने उल्टो कुरा गर्छ जबकी अहिले राष्ट्र प्रमुख जनताको छोराछोरी हुने बाटो खुल्ला छ । जुन आधुनिक र प्रगतिशिल हो ।
एउटा दलितको छोराछोरी राष्ट्रप्रमुख हुनसक्ने व्यवस्था मासेर फेरि एउटा वंशको मानिसलाई राजा बनाउने र त्यसका शाखा सन्तानलाई भत्ता र सत्ता दिने उल्टो मार्ग किचकन्नीले हिंड्लान तर सचेत नेपालीले यसको विरोध गर्नुपर्छ ।
अर्को कुरा यिनीहरु देशमा धार्मिक उन्माद फैलाएर देशमा गृहयुद्धको स्थिति सृजना गर्न खोजिरहेका छन् । जुन देशमा ८५ प्रतिशत हिन्दु छन् त्यहाँ हिन्दुलाई खतरा छ भनेर सच्चा धार्मिक भावना भएका हिन्दु धर्मावलम्बीलाई उन्मादी बनाएर विचारको होइन धार्मिक उन्मादको राजनीति गर्न खोजिरहेका छन् ।
अहिले संसारभरि नै यो विकृति खुब फस्टाएको छ । बहुसंख्यकले अल्पसंख्यकलाई दबाउन उल्टै बहुसंख्यकले आफूलाई खतरा छ भनेर हौवा पिटाउने । अमेरिकामा बहुसंख्यक गोराहरु आफूलाई अमेरिकामा काला र आप्रवासीबाट खतरा रहेको छ भन्दै अन्य अल्पसंख्यक धर्म, जाति र रंगका मानिसलाई दमन गरिरहेका छन् ।
इण्डियामा बहुसंख्यक हिन्दुहरु अल्पसंख्यक मुसलमानबाट खतरा रहेको ढोल पिटेर उनीहरुमाथि दमन गर्ने गर्छन् ।
बंगलादेशमा हेर्नु भयो भने अल्पसंख्यक हिन्दुबाट मुसलमान खतरामा परे, मुसलमानका छोरीहरु असुरक्षित भए, हामीलाई खतरा छ भनेर हिन्दुलाई मार्ने र उनीहरुका घर जलाउने गरियो जुन लज्जा उपन्यासमा पढेका पनि हौं ।
नेपालमा पनि यी कन्जरभेटिभ शक्तिले शक्तिमान बन्नका लागि त्यही गलत रणनीति अख्तियार गरेको छ जसका लागि सचेत नेपाली पार्टीले देशव्यापी जनजागरण अभियान संचालन गर्नु आवश्यक छ ।
पृथ्वी नारायण शाहले भूगोल जोड्नु भयो अब हामी सचेत नेपालीले अख्तियार गरेको सर्वपहिचानवाद, नागरिक समाजवाद र न्यायीक समतावादले यो देशलाई भावनात्मक रुपमा जोडेर मेरो देश मेरो नेपाल भन्ने गौरव दिनुपर्छ ।
यसका लागि हाम्रो दायीत्व छ । हामी सचेत नेपाली पार्टीका सबै लिडरको अहंम् भूमिका छ । देशलाई संकट परेको यस संवेदनशिल घडीमा हाम्रा सबै लिडर साथीहरु जिम्मेवारी र दायीत्व बोध गर्दै अघि बढ्नु हुन्छ भन्ने मैले विश्वास लिएको छ ।
आर्थिक व्यवस्थापन अहिले हाम्रा लागि सबैभन्दा पेचिलो विषयवस्तु बनेको छ । देश र जनतालाई लुटेर राजनीतिमा एकछत्र राज गरिरहेका पुराना र दक्षिणपन्थी शक्तिसँग कानाकौडी नभएका हामीले कसरी संघर्ष गर्ने हो ? हामीले रणनीति बनाउनु छ ।
प्रकृतिले सबै समस्या समाधानका लागि बाटो बनाएको हुन्छ । बाटो कता छ ? र कुन बाटो हिंडेर गन्तव्य प्राप्त गर्ने हो त्यो हामीले छनोट गर्न जान्नु पर्छ ।
धन्यवाद ।सर्वपहिचानवाद, नागरिक समाजवाद र न्यायीक समतावादको नयाँ वैचारिक दर्शन बोकेर आएको सचेत नेपाली पार्टीको चुनाव चिन्ह सिंह हो ।