
काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट बिपी राजमार्ग अवरुद्ध भएपछि यात्रुहरु पैदलै फर्कन थालेका छन् ।काभ्रेको पात्लेखेतदेखि नेपालथोकसम्मको बिभिन्न स्थानको सडक अवरुद्ध भएपछि फसेका यात्रुहरु पैदलै फर्कन थालेका हुन् । तीन दिनसम्म पनि सडक खुल्न नसकेपछि बाध्य भएर पैदलै फर्किनुपरेको यात्रुहरुले गुनासो गरेका छन् ।उनीहरुले सडक खोल्नका लागि ढिलाई भएको गुनासो समेत गरेका छन् । काभ्रेको १३ वटा स्थानीय तहमध्ये रोशी गाउपालिका, पनौती नगरपालिका, तेमाल गाउपालिका र बेथानचोक गाउपालिका धेरै बाढी र पहिरोबाट प्रभावित भएका छन् । राजमार्गमा सयौं यात्रुहरु बिचबाटोमै ३ दिनदेखि अलपत्र परेका छन् ।३ दिनसम्म बाढी र पहिरोले सडक अवरुद्ध भएपछि राजमार्गमा फसेर पैदलै फर्केका यात्रुहरुले सहज रुपमा पानी खाना समेत नपाएको जनाएका छन् ।बाढी, पहिरोबाट प्रभावित र राजमार्ग अलपत्र अवस्थामा रहेका यात्रुहरुलाई उद्धार गर्नको लागि आइतबार बिहानबाट नेपाली सेनाले खाद्य रासन हेलिकप्टरमार्फत उपलब्ध गराएको थियो । तर हेलिकप्टरबाट हजारौ यात्रुको उद्दार सम्भव देखिएको छैन । काभ्रेमा मात्रै बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ ।




























