काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै छन् ।
उनी चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मंसिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ आएका थिए ।
चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज दिउँसो काठमाडौं पुग्ने कार्यक्रम रहेको छ ।बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्री ओली र उनका चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका छन् । दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
यसै अवसरमा नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कसहित विभिन्न महत्वपूर्ण सम्झौता भएका छन् । सन् २०२५ मा चीनबाट धेरै पर्यटक नेपाल भित्र्याउनेबारे पनि उनीहरूबीच कुराकानी भएको जनाइएको छ ।
यसै अवसरमा नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कसहित विभिन्न महत्वपूर्ण सम्झौता भएका छन् । सन् २०२५ मा चीनबाट धेरै पर्यटक नेपाल भित्र्याउनेबारे पनि उनीहरूबीच कुराकानी भएको जनाइएको छ ।प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । बेइजिङमा बुधबार आयोजित ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्दै नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।
विभिन्न परियोजनामा हस्ताक्षर भएको समेत प्रधानमन्त्री निकट स्रोतले बताएको छ । नेपाल र चीनबीच भएको टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेका छन् । यसैगरी नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । चीनले काठमाडौंको वसन्तपुरस्थित नौतले दरबार पुनःनिर्माण सम्पन्न गरेको प्रमाणपत्र आदानप्रदान भएको छ । यसका साथै भैँसीको मासु चीन निर्यातसम्बन्धी प्रोटोकलमा समझदारी भएको जनाइएको छ ।विकास आयोजना, आर्थिक तथा प्राविधिक सहयोग तथा नगद सहयोगसम्बन्धी सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ । भ्रमणका अवसरमा स्वयम्सेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।