काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी र निर्यातवृद्धिमा योगदान दिने हस्तकला क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।शुक्रबार काठमाडौंमा नेपाल हस्तकला महासङ्घको ४४ औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा रोजगारी, उत्पादन, उद्यमशीलता, आत्मविश्वास र निर्यात बढाउने क्षेत्र भएकाले यसका लागि सरकारले गर्नुपर्ने काममा लागि आफूहरुले सक्दो पहल गर्ने विश्वास दिलाउनुभयो । प्रधानमन्त्री ओलीले कला र संस्कृतिमा नेपाल धनी भएको सन्दर्भमा हस्तकला क्षेत्र कहिल्यै विस्थापित नहुने उल्लेख गर्नुभयो । उहालेबजारका सामान भन्दा आफैले मेहनत गरेर फलाएका खाना र बनाएका सामान प्रयोगवृद्धिका लागि आग्रह गर्नुभयो । हस्तकलाले महिलाको रोजगारी र सीप विकासका साथै सामाजिक उत्थानमा पनि मद्धत गरेको उहाको भनाइ छ । उहाले हस्तकला क्षेत्र क्षेत्रको बिकासका लागि सरकारले थप काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।कार्यक्रममा महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले सरकारले सार्वजनिक निकायहरुमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्ने सम्बन्धी निर्देशिका जारी गरेकामा स्वागत गर्दै यसको प्रभावकारी कार्यान्वयमा जोड दिनुभयो । हस्तकला क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्षरुपमा ११ लाख रोजगारी सृजना गरेको छ भने यसले करिब रु ११ अर्व मूल्यको निकासी र सोही रकम बराबरको आन्तरिक कारोबार गरेको संघले जनाएको छ ।