
पुण्यप्रसाद प्रसाईहालै प्रतिनिधि सभा सदस्य खगेन्द सुनारलेले विद्यार्थीलाई डस्टर हान्ने शिक्षकलाई भाटा हान्नुपर्छ भन्ने अभिव्यक्ति दिनुभयो। यस्तो अभिव्यक्ति सुन्दा धेरैलाई रिस र असन्तोषको भाव आउन सक्छ, तर शिक्षा सुधार्ने बाटो दण्ड र अपमानबाट होइन, समझदारी र सुधारबाट सुरु हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन। नेपालको शिक्षा प्रणालीबारे बहस गर्दा कहिलेकाहीँ भावनात्मक प्रतिक्रिया धेरै सुनिन्छ, तर समाधान भने त्यति धेरै खोजिँदैन।नेपालका धेरै शिक्षकहरू खराब नियतका कारणले कमजोर भएका होइनन्। उनीहरूलाई आवश्यक तालिम, नयाँ शिक्षण विधि र निरन्तर सिकाइको वातावरण नदिइएकै कारण धेरै ठाउँमा शिक्षण कमजोर देखिन्छ। शिक्षकलाई भाटा हान्ने भाषाले समस्या समाधान हुँदैन, बरु उनीहरूलाई सक्षम बनाउने वातावरण तयार गर्नु आवश्यक हुन्छ। शिक्षा प्रणाली बलियो हुन शिक्षकको आत्मविश्वास, ज्ञान र पेशागत सम्मान बलियो हुनुपर्छ।विश्वका सफल शिक्षा प्रणालीहरू हेर्दा एउटा समान कुरा देखिन्छ। उनीहरूले शिक्षकलाई दोष दिएनन्, उनीहरूलाई तयार पारे। भारतको दिल्लीमा अरविन्द केजरीवालको सरकारले सार्वजनिक विद्यालय सुधार गर्दा पुराना शिक्षकहरूलाई हटाइएन। उनीहरूलाई नै नयाँ तालिम, नेतृत्व विकास र आधुनिक शिक्षण पद्धति सिकाइयो। धेरै शिक्षकलाई विदेशसम्म प्रशिक्षणका लागि पठाइयो। परिणामस्वरूप दिल्लीका सरकारी विद्यालयहरू भारतमै उदाहरणीय बन्न थाले।
संसारका अन्य सफल उदाहरणहरू हेर्दा शिक्षा सुधारको मूल आधार शिक्षक नै भएको देखिन्छ। इजराइलले आफ्नो इतिहासभरि ज्ञानलाई अस्तित्वको आधार मानेर शिक्षा र अनुसन्धानमा निरन्तर लगानी गर्यो। त्यही लगानीका कारण सानो देश भएर पनि विज्ञान, प्रविधि र नवप्रवर्तनमा आज इजरायल विश्वमै अग्रस्थानमा देखिन्छ।यस्तै फिनल्याण्ड, नर्वे र डेनमार्क जस्ता स्क्यान्डिनेभियन देशहरूले शिक्षा प्रणाली निर्माण गर्दा शिक्षकलाई सबैभन्दा सम्मानित पेशामध्ये एक बनाए। त्यहाँ शिक्षक बन्नु सजिलो छैन, तर एकपटक शिक्षक बनेपछि उनीहरूलाई निरन्तर अध्ययन, अनुसन्धान र प्रशिक्षणको अवसर दिइन्छ। परिणामस्वरूप विद्यालयहरूमा विश्वास उच्च छ र सार्वजनिक शिक्षा नै समाजको मेरुदण्ड बनेको छ।
उत्तरी अमेरिकाको क्यानडामा पनि सार्वजनिक विद्यालयहरू कति बलिया छन् भने धनी र गरिबका बच्चाहरू एउटै विद्यालयमा पढ्छन्। सरकारी विद्यालयलाई कमजोर बनाउने सोच त्यहाँ छैन। बरु त्यस्ता विद्यालयलाई समाजकै सबैभन्दा विश्वासिलो संस्था बनाइएको छ।नेपालमा भने शिक्षा क्षेत्रलाई धेरै वर्षदेखि उपेक्षा गरिएको छ। स्थानीय सरकार र राज्यले धेरै ठाउँमा सडक, भवन र देखिने पूर्वाधारमा लगानी गरे पनि विद्यालयको गुणस्तर सुधारमा त्यति ध्यान दिएको देखिँदैन। भवन बने पनि शिक्षकको सीप विकास, आधुनिक पाठ्यक्रम, अनुसन्धान र शिक्षण अभ्यासमा आवश्यक लगानी भएको छैन। त्यसैले समस्या कुनै एक शिक्षकको मात्र होइन, समग्र प्रणालीको हो।
नेपालको अर्को जटिलता शिक्षा क्षेत्रको राजनीतिकरण पनि हो। धेरै शिक्षक विभिन्न दलसँग जोडिएका छन्। तर यसको कारण खोज्दा देखिन्छ कि पेशागत असुरक्षा, प्रणालीको कमजोरी र राजनीतिक संस्कृतिले यस्तो अवस्था बनाएको हो। अहिले फेरि शिक्षकलाई धम्क्याएर वा कुनै दलतिर तान्ने प्रयास गरेर शिक्षा सुधार सम्भव हुँदैन। शिक्षा सुधारको लक्ष्य राजनीतिक प्रभाव बढाउने होइन, शिक्षाको गुणस्तर बढाउने हुनुपर्छ।
हामीले सोच्नुपर्ने मुख्य कुरा के हो भने सार्वजनिक विद्यालय कस्तो बनाउने। यदि सरकारी विद्यालय यस्तो बन्यो जहाँ गरिबका बच्चा मात्र होइन धनी परिवारका बच्चा पनि पढ्न चाहन्छन् भने त्यो शिक्षा प्रणाली सफल भएको मानिन्छ। यस्तो अवस्था बनाउन शिक्षकको तालिम, आधुनिक शिक्षण पद्धति, अनुसन्धानको संस्कृति र पर्याप्त लगानी अत्यावश्यक हुन्छ।
शिक्षा क्षेत्रमा रोष र अपमानको भाषा प्रयोग गरेर सुधार सम्भव हुँदैन। शिक्षकलाई भाटा हान्ने भाषाले शिक्षा क्षेत्र झन् कमजोर बनाउँछ। सुधारको बाटो भनेको सम्मान, प्रशिक्षण र दीर्घकालीन सोच हो। शिक्षकलाई सक्षम बनाउन सकियो भने उनीहरू नै नेपालको शिक्षा परिवर्तनका सबैभन्दा बलिया आधार बन्न सक्छन्।




























