काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको ध्यान सम्पूर्ण रुपमा युवाहरुलाई आधुनिक र वैज्ञानिक शिक्षासँग परिचित गराउने तर्फ भएको बताएका छन् ।सोमबार काठमाडौँको बुढानीलकण्ठस्थित इम्पेरियल कलेजमा आयोजित युवासँगको अन्तरक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले झिँगाको संगत गर्दा फोहोरको डंगुरमा पुगिने र मौरीको संगत गर्दा फूलबारीमा पुगिने कुराको सधैँ हेक्का राख्नुपर्ने जिकिर गरे ।‘गलत संगतमा कहिल्यै नजानुस् । गलत ठिक छैन भन्ने बित्तिकै छाडिदिनुस् । संगठन टिक गर्नुस् । मैले भन्ने गरेको छु मौरीको साथ लाएर हिँड्यो भने फूलबारीमा पुगिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘झिँगाको साथ लाएर उड्यो भने त्यसले फोहोरको डंगुरमा पुर्याउँछ । त्यसकारण फोहोरको डंगुरमा झिँगाको साथ लाएर जान हुँदैन । पहिले हामीले छुटाउनुपर्छ, मह जम्मा गर्ने कि कीटाणु जम्मा गर्ने भनेर ।’उनले भने, ‘विदेशमा गएर नेपाली युुवाले अरुका देश बनाएका छन् । अब हामीले आफ्नै देश बनाउन ध्यान दिनुपर्छ । हामीसँग एक करोड युुवा अहिले पनि स्वदेशभित्रै छन् । त्यसैले अब हामी हाम्रो देश बनाउँछौँ । यस देशबाट गरिबी समाप्त पार्नुपर्छ । देशको स्वाधीनताको झण्डा झुक्न दिन हुँदैन र देशलाई समृद्ध नेपाल बनाउनुुपर्छ ।’उनले ज्ञानभूमि र तपोभूमिका साथै पुर्खाको गौरवगाथाले भरिएको नेपाल कहिल्यै कुनै पनि देशको अधिनमा बस्नुु नपरेको स्मरण गराउँदै विद्यार्थीहरुलाई देशभक्तिलाई शीरमा बोकेर इमानदार बनेमा सफलतामा पुुग्न सकिने सुुझाव दिए ।उनले विद्यार्थीहरु अरुको बहकाबमा लाग्न नहुने र असल नेपाली संस्कारलाई पछ्याउनु लाग्नुुपर्नेमा जोड दिँदै युुवाहरुका लागि स्वदेशमै अवसरहरुको सृजना गर्न सरकारले विशेष ध्यान दिइरहेको जनाए ।