
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्रभावले सेवा दिइ लोकतान्त्रिक गणतन्त्रलाई मजबुद बनाउन आग्रह गरेका छन् । मधेश प्रदेशसभालाई सम्बोधन गर्दै गणतन्त्र देशको वर्तमान र भविष्य भएको बताए ।मधेस प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समयको विकास र अनुभवका आधारमा विद्यमान प्रणालीलाई बलियो बनाउन तथा सुशासन र विकासका लागि उचित समयमा संविधान संशोधन हुने स्पष्ट गरे।संविधानले प्रदेशलाई स्वायत्तता प्रदान गरेको र यो स्वायत्तताको सही उपयोग गर्न सबैको दायित्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सङ्घ, प्रदेश र स्थानीय तह बिचको समन्वय, नीति निर्माण र विकासका कार्यहरूलाई प्रभावकारी बनाउन प्रदेश सरकारको विशेष भूमिका रहने बताए ।प्रधानमन्त्री ओलीले मधेश प्रदेश सम्भावनै सम्भावनाहरूको उर्बर भूमि कृषिका लागि उपयुक्त हुने र चुरेक्षेत्र जडिबुटी, जङ्गलदेखि पानीको अपार स्रोत रहेको बताए ।ओलीले कांग्रेस–एमाले समीकरणको सरकारलाई कुनै असर नगर्ने पनि बताए । “यो सरकार ढल्ने त कुरा छोडिदिनुस् । हल्लिँदा पनि हल्लिँदै,” उनले भने ।उनले चुनावमा जान नसक्ने तत्वले व्यक्तिका घर, कारखाना जलाएको भन्दै समाजमा स्वीकार्य नहुने बताए । उनले कानुनभन्दा माथि कोही नहुने भएकाले तीनकुने घटनाका दोषी सबैलाई कारबाही गरिने स्पष्ट पारे ।प्रधानमन्त्री ओलीले अनावश्यक हल्ला चलाइएको भए पनि दुई छिमेकीसँग हाम्रो राम्रो सम्बन्ध रहेको बताए ।“सँगै सुतेपछि खुट्टा लाग्छ, खुट्टा हटाउ भनेपछि कुरा सकिन्छ । त्यसकारण नेपालको दुई छिमेकीसँग अशल मित्रता छ ।”




























