नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले काठमाडौंको फोहोर व्यवस्थापन गर्न प्रधानमन्त्रीले नै पहल गर्नुपर्ने बताएका छन्।काठमाडौं महानगरपालिका, सहरी मन्त्रालय र जनप्रतिनिधिहरूले फोहोर उठाउने र व्यवस्थापनका क्षेत्रमा काम गरिरहे पनि पर्याप्त नभएको उनको भनाइ छ।फोहोर व्यवस्थापनको काममा काठमाडौं महानगरपालिका र सहरी मन्त्रालयले गरिरहेको काममा हामी सबैले सहयोग गर्नुपर्छ,’ उनले भने, ‘कतिपय कुरा यी दुई निकायले चाहेर मात्रै हुँदैन। स्रोतसाधन र कानून तथा नियमका गाँठो फुकाउन प्रधानमन्त्रीले नै पहल लिनुपर्नेछ। यसका लागि प्रधानमन्त्रीलाई पहल कदमी लिन आग्रह गर्दछु।’फोहोर व्यवस्थापनमा नागरिकहरूले पनि सहयोग गर्नुपर्ने उनले बताए।साउन १ गतेदेखि घरमै कुहिने र नकुहिने फोहोर बेग्लाबेग्लै राख्न काठमाडौं महानगरपालिकाले पनि अपिल गरेको थापाले बताए। विगत दुई सातादेखि काठमाडौंको फोहोर उठ्न सकेको छैन।मंगलबार र बुधबार फोहोर बोकेर बन्चरेडाँडा पुगेका गाडीलाई स्थानीय बासिन्दाले अवरोध गरेका थिए।