
पुण्यप्रसाद प्रसाई
कुलमान घिसिङले लोडशेडिङ हटाएर जुन इतिहास रचे, त्यो नेपाली जनताको जित थियो। अहिले त्यो जितलाई हराउने प्रयास भइरहेको छ—एक पटक फेरि देशलाई अँध्यारोमा धकेल्ने षड्यन्त्र रचिँदैछ। नेपाली जनताले एक पटक उज्यालो स्वाद चाखेका छन्। अब त्यो उज्यालोलाई सधैंको लागि जोगाउन, आवाज उठाउन जरुरी छ। एउटा माफिया र दलालको नाइके उर्जामन्त्री बनेको अवस्था छ परिणाम लोडशेडिङ फेरि लाद्ने तयारी हुँदैछ जुन केवल बिजुलीको अभाव हैन—त्यो हामी नेपाली जनताको चेतनामाथि बलात्कार ठहरिने छ।हामी जनतालाई फेरि गधा बनाउने प्रयास हो, लोडशेडिङ
कहिल्यै नफर्कुन् भन्ने गरी बिदा गरेका थियौं हामीले लोडशेडिङलाई। त्यो कालो दशक, जुन १२–१६ घण्टासम्म अन्धकारले गाउँ, शहर, मन, मुटु ढाक्दथ्यो—त्यो हामी सम्झन पनि चाहँदैनौं। तर आज, त्यो अन्धकार फेरि बिस्तारै छिर्दैछ हाम्रो घर, हाम्रो आत्मा, हाम्रो चेतनामा। के यो केवल संयोग हो? कि यो एउटा खतरनाक षड्यन्त्र हो जसले हाम्रो उज्यालोलाई फेरि बिक्री गर्न खोजिरहेको छ?२०७३ सालपछि नेपाली जनताले एक ऐतिहासिक परिवर्तनको अनुभूति गरे—कुलमान घिसिङको नेतृत्वमा लोडशेडिङ अन्त्य भयो। नेपालले १२–१४ घण्टाको अँध्यारोबाट मुक्ति पायो। १० वर्ष उनले यस देशलाई अन्धकारबाट मुक्त राखे । सत्ताधारीका देवताहरु माफिया, चोर र दलालहरुले बन्धक राखेको उज्यालो कुलमानले ल्याएर जनताले दिए । नेपाली जनताका लािग उनी प्रमिथस थिए राजाले लुकाएको आगो चोरेर जनतालाई दिने । यिनै प्रमिथसलाई खलनायक बनाउन सत्ताधारी र दलालहरु अहोरात्र खटे र खटिरहेका छन् । परिणाम आज फेरि त्यही अन्धकार बिस्तारै झुल्किन थालेको छ। के यो केवल उत्पादन र प्रवाहको समस्या हो? कि त यसको पछाडि एउटा सुनियोजित षड्यन्त्र लुकेको छ?लोडशेडिङ होइन, जनताको चेतनामा गरिएको हमला
लोडशेडिङ केवल बिजुली जाने घटना होइन—यो जनताको चेतनामा भय पैदा गर्ने हतियार हो। भयले गर्दा मानिस आफ्ना आधारभूत अधिकारबारे बोल्न छाड्छ, ‘केही नहोस्, लोडशेडिङै नहोस्’ भन्ने न्यून अपेक्षामा बाँच्न अभिशप्त हुन्छ जनता। आज फेरि त्यही सामूहिक मनोविज्ञान सक्रिय बनाइँदैछ। जसरी खाने पानीमा समस्या राखेर जनतामाथि खेलिएको हेर्न हामी बाध्य छौं, त्यही बिजुलीमा दोहोर्याउन खोजिँदैछ । यो केवल बत्ती जानु होइन, यो आवाज हराउनु हो। यो केवल बिजुली काट्नु होइन, विश्वास काट्नु हो। जुन जनताले उज्यालो जीवनको स्वप्न देखेका थिए, त्यो सपना अब फेरि तोड्न खोजिँदैछ। र, यसको पछाडि छन्—माफिया, दलाल, भ्रष्ट प्रशासक र अन्धो सत्ता।कसको खेल? कसलाई फाइदा? हामीले बुझ्नैपर्छ।
जेनेरेटर र इन्भर्टर व्यापारीहरूको षड्यन्त्र
लोडशेडिङ सुरु भयो कि सहरमा हल्ला चल्छ—’अब त जेनेरेटर किन्नैपर्छ।’ काठमाडौंबाट विराटनगरसम्म व्यापारीहरू हात घोट्छन्। विदेशबाट ल्याइएको सस्तो सामान नेपालीलाई चारगुना मूल्यमा बेचिन्छ। अहिले संचिती विदेशी मुद्रामा पनि विचौलियाको आँखा लागेको छ यो लोडशेडिङसँगै विदेशी मुद्रा देशबाट बग्छ। लोडशेडिङ बढ्यो भने विधुतीय सामग्रीको माग आकासिन्छ। व्यापारीहरू चाइनाबाट सस्तोमा ल्याएर महँगोमा बेच्ने खेल सुरु गर्छन्। देशको विदेशी मुद्रा सञ्चिति घटाउने यो आयात सिण्डिकेटलाई ठूलो फाइदा।ग्याँस माफिया फेरि सक्रिय
इन्डक्सन चुल्होले ग्यासको खपत घटाएको थियो। ’कुलमानी क्रान्ति’ ले सयौं ग्यास डिपो सुनसान पारेका थिए। आज फेरि लोडशेडिङ गरेर जनतालाई ग्यासतिर फर्काउने प्रयास भैरहेको छ। जनता फेरि महँगो, अस्वस्थ विकल्पमा फर्कन बाध्य।पेट्रोलियम लबीको प्रतिशोध
EV गाडीहरूले पेट्रोलको उपभोग घटाएको छ। चार्जिङ स्टेसनहरू बढ्दै थिए। अब लोडशेडिङ गरेर बेट्री चार्ज गर्न नसक्ने बनाइन्छ। EVको प्रगति रोक्न लोडशेडिङ हतियार बनाइएको छ। साना उद्योगदेखि घरपरिवारले ब्याट्री ब्याकअप राख्नुपर्ने बाध्यता सिर्जना हुन्छ। यसका व्यापारीहरू लाभको पर्खाइमा बसेका छन्।बिजुली छैन भन्ने झूट! यो व्यवस्थापनको असफलता होइन,षड्यन्त्र हो।
सरकार र प्राधिकरण भित्रको सत्ता, संरचना लोडशेडिङको आडमा निम्न कार्यहरू हुनसक्छन्, भ्रष्टाचारजन्य आपूर्ति सम्झौता, उपकरण मर्मत, ट्रान्सफर्मर आपूर्ति, जेनेरेटर खरिद इत्यादिमा अर्बौं रुपैयाँको घोटाला। नीति निर्माणमा माफिया हस्तक्षेप, ऊर्जा नीतिहरू व्यापारी हितमा बनाउने षड्यन्त्र। विदेशी मुद्रा निकासीमा सहजतास् ब्यापारीहरूले डलर तान्न सजिलो होस् भनेर अभाव सिर्जना। नेपालमा अहिले उत्पादित बिजुली दैनिक खपतभन्दा धेरै छ। तर त्यो वितरण गर्न नचाहने प्राधिकरण र ऊर्जा मन्त्रालयको सच्चाइ के हो? लोडशेडिङ योजनाबद्ध रूपमा लागू गरिएको हो। मन्त्रीहरू र कर्मचारीहरू कमिसन र लाभमा रमाएका छन्। अभाव’ सिर्जना गरेर ठेक्कापट्टाको बाटो खोल्ने दाउ छ।जनताको मनोविज्ञानसँग खेल्न खोजिँदैछ –लोडशेडिङ त सामान्य हो।’ भन्ने सोच
अलिअलि कटौती गर्दै जनतालाई अभ्यस्त पारिन्छ। पछि ८–१० घण्टाको लोडशेडिङ हुँदा पनि सामान्यजस्तै लाग्छ। जनताले प्रश्न गर्नै छाड्छन्। यही चुपचाप सहनुमा, राज्य–माफिया गठबन्धनको जित हुन्छ। यो हाम्रो खुनपसिनाले बनाएको पूर्वाधारमाथि लुट हो। यो कुलमानले शुरू गरेको ऊर्जा संस्कृतिमाथि प्रहार हो। यो केवल बत्ती निभाउनु होइन, हामीलाई फेरि गधा बनाउने प्रयास हो। लोडशेडिङ भनेको ’तिमीहरू बोल्न सक्दैनौ’ भन्ने सन्देश हो।अब जनता के गर्ने?
पहिलो कुरा त यस देशको जनता आफ्नो हकहितका लागि कहिल्यै लड्दै त्यसैले उसमाथि सत्ताले सधैं चरम अत्याचार गर्ने हैसियत राख्छ । एक पटक यस देशका हामी जनता आफ्ना लागि लडौं, बिजुली र पानीका लागि, स्वास्थ्य र शिक्षाका लागि, सुरक्षा र रोजगारीका लागि । अब हिसावकिताब मागौं, प्राधिकरणसँग सार्वजनिक जानकारी मागौं। सूचना अधिकार प्रयोग गरौं। कसरी, किन,र कुन समय कारणले लोडशेडिङ गर्नु परेको औपचारिक रिपोर्ट सार्वजनिक गर्न लगाउँ।सार्वजनिक दबाब सिर्जना गरौं, मिडिया, सामाजिक सञ्जाल, आन्दोलनमार्फत प्रश्न उठाऔं। नयाँ ‘कुलमान’ खाजौं, तर अन्धभक्त नबनौं, नेतृत्वको मूल्यांकन प्रमाणमा आधारित हुनुपर्छ। स्वदेशी ऊर्जा विकल्पको माग गरौं, सौर्य, वायु ऊर्जा, र लघु जलविद्युत्को सशक्त योजनाका लागि दवाव दिउँ ।अब हामी मौन बस्यौं भने, फेरि अँध्यारो जित्नेछ। तर यदि हामी एक भयौं भने, उज्यालो सधैं हामीसँग रहनेछ । अब निर्णय जनताको हो—चुप लाग्ने कि प्रश्न गर्ने ?र अन्त्यमा लोडसेडि र ऊर्जाको मात्र कुरा होइन, हामीमाथि नियन्त्रणको युद्ध चलिरहेको छ
नेपाल अहिले बिजुली बेच्ने कुरा गरिरहेको छैन — ऊर्जा नीतिमा आत्मनिर्णय गुमाउँदैछ। हामीकहाँ जलविद्युत उत्पादनको क्षमता विश्वमै अग्रपंक्तिमा छ, तर नियति यस्तो बनाइएको छ कि हामी आफ्नै उत्पादन भारतको अनुमति बिना बेच्न सक्दैनौं। भारत अब हाम्रो बिजुली नीतिको भक्षक भएको छ — चिनियाँ लगानी देख्यो कि रोकिन्छ, भारतको लाइनबाट बटमलाइन नतोकियो भने रोक लगाइन्छ। यदि अहिले मौन बस्यौं भने, हामी जलश्रोत भएको भिखारी राज्य बन्छौं। । ऊर्जा आत्मनिर्भरता कुनै सपना हैन, यो राष्ट्रिय सुरक्षा हो। यो व्यापार होइन, ऊर्जा मार्फत भू(राजनीतिक नियन्त्रणको रणनीति हो। जुन देशले हामीले संविधान बनाउॅदा हाम्रा बच्चाहरूका औषधि रोकेको थियो, उही देश अहिले हाम्रो ऊर्जा भविष्य लेख्न खोज्दैछ। नेपाली जनताले बुझ्न जरुरी छ — अब लोडशेडिङ फर्किएको छैन, हामी फेरि अँध्यारो नीति (निर्णयको) उपनिवेशमा धकेलिंदैछौं। हिजोका राजालाई जस्तै अब भारतले हाम्रा नेताहरूलाई आफ्नो “ग्रिड” मा बाँध्दैछ। साँचो स्वाधीनता भनेको नदीहरूको अधिकार मात्र होइन — ती नदीहरूको बिजुली कहाँ बेच्ने, कति बेच्ने, कोसँग बेच्ने भन्ने निर्णय गर्ने नीति निर्माणको हक हो। यदि अब पनि हामी मौन बस्यौं भने नेपाली पानी सधैं अरूका प्यास मेटाउन मात्र प्रयोग हुनेछ, नेपालीहरूको घाँटी भने सुक्खा नै रहन्छ।[caption id="attachment_22323" align="alignnone" width="334"]
Writer[/caption]



























