
काठमाडौँ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ ।साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायन शुरु हुने दिनलाई विशेष रुपमा मनाइन्छ ।अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविदहरु बताउछन् ।एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ ।त्यस्तै साउन महिनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको बताइन्छ ।साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ ।सूर्य पनि साउनबाट नै दक्षिणतर्फ ढल्किन थाल्छन् अर्थात् साउनबाट दक्षिणायन सुरु हुन्छ । त्यसैले यस समयमा ग्रहहरु कमजोर हुनुका साथै वर्षाका कारण विभिन्न रोगव्याधिले संक्रमण लाग्ने सम्भावना भएकाले पनि भगवान् शिवको आराधना गर्दै व्रत बस्ने चलन छ । त्यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ ।




























