काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धनको विषयमा अब समीक्षा गर्ने समय आएको बताएका छन् ।बिहीवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गुरुङले स्थानीय तह निर्वाचनको परिणाम आइसकेकाले अब गठबन्धन गर्नेरनगर्ने भन्ने समीक्षा गरिने बताए ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसले गठबन्धनप्रति इमान्दारिता नदेखाए एमालेकै हालत बनाउने भनेर भनेकोबारे पत्रकारको प्रश्नमा उनले नेताको भाषणलाई लिएर नबोल्ने बताए ।‘उहाँले कहाँ के प्रसङ्गमा बोल्नुभयो, मलाई थाहा छैन,’ उनले भने, ‘भाषणकै भरमा प्रतिक्रिया दिइहाल्नु उचित ठान्दिनँ ।’गठबन्धनका कारण कांग्रेसले धेरै स्थानीय तहमा जितेको भन्ने प्रश्नमा उनले जनताले जिताएको प्रतिक्रिया दिए । ‘केही स्थानमा गठबन्धनका कारण पनि हामीलाई सहज भयो होला तर कांग्रेसलाई जनताले जिताएका हुन्,’ उनले भने, ‘गठबन्धनका कारण हामीलाई घाटा भयो भन्ने चाहिँ छैन ।’प्रदेश र संघको चुनाव आउन समय लाग्ने भएकाले गठबन्धन के गर्ने भन्ने विषयमा अहिले नै बोलिहाल्नु उचित नभएको समेत उनले बताए । गठबन्धनको विरोध गर्दै आएका गुरुङ अहिले गठबन्धनप्रति नरम देखिएका छन् ।