
हे पुराना दलका युवा हो! ३६ वर्षको प्रधानमन्त्री बालेनलाई गाली गरेर बाहरुको झोले र भेडो भएर बाँच्नुुको साटो सिंहजस्तो हिम्मतिलो र आत्मविश्वासी बनेर बूढाहरुबाट पार्टी कब्जा गरेर पार्टी र देशको नेतृत्व गर्र्नुहोस् ।
यो त्यही एमाले हो जसको गठन हुँदा २३–२४ वर्षको सिपी मैनाली महासचिव बनेका थिए । प्रजातन्त्रपछि ३७ वर्षका मदन भण्डारी महासचिव बने, कांग्रेस त्यही हो जसबाट ३६ वर्षका विपी कोइराला गृहमन्त्री बने, ६२–६३ मा हामीले राजा विरुद्धको आन्दोलन सफल गरेपछि माओवादी खुला राजनीतिमा आउँदा कयौं नेताका भर्खर जुँगा काला भएका थिए, तर विडम्बना आज यी पार्टीहरु बालेन र उनी जस्तै युवाले शासन सत्ता सम्हाल्दा उरन्ठेउला भन्छन् र तिनका युवा कार्यकर्ता ताली बजाउँछन् !विभिन्न पुराना पार्टीमा रहनु भएका हे युवा! तपाईंको पार्टीका बूढा नेताहरुले तपाईंहरुको आत्मविश्वास खोसेका छन् । तपाईंहरुको त्यो विराट शक्तिलाई जुरुक्क उठ्न दिएकै छैनन् । मलाई थाहा छ तपाईं संसार हल्लाउन सक्ने सिंह हो तर तिनले तपाईलाई भेडाको पाठो जसरी हुर्काएका छन् । यहाँ मैले तपाईं सिंह हो भेडो होइन भन्दा तपाईंलाई रिस उठ्छ । आज गगन थापाले बैधानिक रुपले अधिवेशन गरेर पार्टीको सभापति बन्दा सारा बूढाहरु कसरी एकीकृत भएर आक्रमण गरिरहेका छन् ? हरेक युवाले यो हेर्नुपर्छ । ५० वर्षको भइसक्दा पनि तपाईंलाई अझै आफ्नो बेला आएको छैन जस्तो लाग्छ भने त्यो तपाईंहरुको आत्मविश्वास खोसिएको अवस्था हो ।बूढा नेताहरु तपाईंहरु भन्दा प्रगतिशिल, परिवर्तनकारी र जनताको भावना बुझ्ने योग्य भएर नेतृत्वमा रहेका होइनन् । तिनीहरुले गुटबन्दी गरेर षडयन्त्रपूर्ण तरिकाले पार्टी कब्जा गरेका हुन्, तपाईंहरु अयोग्य र कमजोर हुनुहुन्न त्यसकारण युवा संगठित भएर पार्टीमा हस्तक्षेत्र गर्नुहोस् र युवा नेतृत्व खडा गर्नुहोस् । किनकि परिवर्तन तपाईंको हातबाट हुनु छ । तर उनीहरु तपाईंहरुलाई जुधाएर, फुटाएर शक्ति आर्जन गरिरहेका छन् भन्ने हेक्का राख्नुहोस् ।बेकारको चिन्ता नगर्नुहोस् ओली, देउवा र प्रचण्ड जस्ता बूढा नेता नभएर देशलाई त के तपाईंहरुको पार्टीलाई पनि केही फरक पर्दैन । ३६ वर्षको प्रधानमन्त्री बालेनलाई गाली गरेर बाहरुको झोले भेडो भएर बाँच्नुुको साटो आत्मविश्वासी बनेर बूढाहरुबाट पार्टी कब्जा गर्नुहोस् र देशभरिका युवालाई समेटेर अर्को पालि आफै प्रधानमन्त्री बन्नतिर लाग्नुस् । तपाईंका बाले देश बनाउने भए उहिल्यै बनाइसक्थे । त्यसकारण युवाहो! म तपाईंलाई विश्वास गर्छु तपाईंका बालाई होइन । मैले तपाईंहरुको पार्टीलाई गाली गरेको होइन । फोहोरको डङ्गुर थुपारेर तपाईं युवाको बाटो छेकेर बसेका ति बूढो ढुङ्गोलाई प्रगतिको पथबाट पन्छाएर दुर्गन्ध सफा गर्दै अघि बढ्नुस् भनेको हो । हिम्मत गर युवा हिम्मत गर ।
पुण्य प्रसाई




























