
निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि सोमबार राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि शुरु भएको छ । आयोगले फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको हो । निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिएको छ ।निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको छ । निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन । साथै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको छ ।आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित÷हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य गर्न हुँदैन । आयोगले मुलुकको सर्वाेच्च र गरिमामय पद राष्ट्रपतिको निर्वाचनमा निर्वाचन कानुन र आचारसंहिताको पालना गराई निर्वाचनको स्वच्छता र मर्यादा कायम गर्न आयोगले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
प्रचारप्रसारको अन्तिम दिन पनि राष्ट्रपति पदका उम्मेदवार एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेका नेता तथा राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङ आफ्ना पक्षमा भोट माग्न व्यस्त रहे । राष्ट्रपतिको निर्वाचन नजिकिदै गर्दा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले सक्रियता जारी राखे । आगामी फागुन २५ गते हुन गइरहेको निर्वाचनमा राष्ट्रपति पदका उम्मेदवार एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सक्रिय छन् । राष्ट्रपतिका उम्मेदवार पौडेलले नेकपा (एकीकृत समाजवादी) का सम्मानित झलनाथ खनालसँग सोमबार विहान भेट गरेर आफनो पक्षमा मत मागेका छन ।
नेता खनाललाई भेट्न वरिष्ठ नेता पौडेल खनाल निवास डल्लु पुगेका थिए । आठ दलको साझा उम्मेदवार पौडेल र खनाल बिचको भेटका क्रममा दुई नेताबीच समसामयिक राजनीतिक विषय र राष्ट्रपति निर्वाचनका बारेमा छलफल भएको नेता पौडेलको सचिवालयले जनाएको छ ।यसैगरी राष्ट्रपतिका उम्मेदवार रहेका नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरुसँग भोट मागेका छन् । शनिबार राष्ट्रपति उम्मेदवार पौडेलसहितका कांग्रेस नेताहरुले राप्रपा पार्टी कार्यालयमा अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरुलाई भेट गरेर सहयोग मागेका हुन् ।
राप्रपामा राष्ट्रपति निर्वाचनमा मत हाल्ने या नहाल्ने भन्नेमै विवाद रहेको छ भने राप्रपाले अहिलेसम्म कुनै निर्णय गरेको छैन । राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलसँगै नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ उम्मेदवार छन् । पौडेललाई ९ दलको समर्थन रहेको छ भने नेम्वाङलाई एमालेले उम्मेदवार बनाएको छ । नेता पौडेलले शनिबार बिहान नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेट गरेका थिए ।
यस्तै नेकपा एमालेका नेता तथा राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले आफूलाई राष्ट्रपतिमा निर्वाचित गर्दा संविधानको रक्षा गर्ने बताएका छन् । सोमबार नेकपा एमालेले पार्टी केन्द्रीय कार्यलय च्यासमा सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रममा नेम्वाङले आफूले संविधानको रक्षा गर्ने बताएका हुन् । ‘म राष्ट्रपति हुँदा संविधानको रक्षा गर्छु । तपाईंको शीर निहुरिने काम हुन दिन्नँ । संविधानको रक्षा मेरो पहिलो दायित्व हुनेछ । मैलै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता आरजु राणालाई भेटेर आएको हुँ ।’उनले कांग्रेसका सभापति देउवाले समेत राष्ट्रपतिमा उपयुक्त पात्र भएको बताएको सुनाए । जिम्मेवार राजनीतिक दल एक ठाउँमा उभिनु पर्दछ भन्ने देउवाको भनाइ रहेको नेम्वाङको भनाइ छ । उनले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई भेटेको बताएका छन् । अभिमुखीकरण कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताउन पार्टीले लिएको रणनीति, विपक्षी पार्टीका मतदाता तान्ने रणनीति र वर्तमान राजनीतिक अवस्थाका बारेमा जानकारी गराएका थिए ।
उनले राष्ट्रपतिको निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेका नेम्वाङको जित सुनिश्चित भएको बताए । उनले लोकतन्त्रको रक्षा गर्नका लागि सबै राजनीतिक दलसँग एमालेले सहकार्य गर्ने पनि बताएका छन् । अभिमुखीकरण कार्यक्रममा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवद्वय गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी लगायतको नेताहरूको सहभागी थियो । एमालेले राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।Source:Janasawal




























