
नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतसमक्ष करको दायरा बढाएर राजस्व संकलनको लक्ष्य पूरा गर्नुपर्ने प्रस्ताव गरेको छ । अध्यक्ष राजेन्द्र मल्लसहितको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. महतलाई भेटेर करको दायरा बढाएर मात्र राजस्वको लक्ष्य पूरा गर्न सकिने बताएको हो ।“करको दर वृद्धि गर्नुभन्दा करको दायरा बढाइनुपर्दछ” चेम्बरले भनेको छ, “यसका लागि नागरिकतासँगै प्यानकार्डको पनि व्यवस्था गरिनुपर्दछ ।” अध्यक्ष राजेन्द्र मल्लले सीमामा हुने अवैध व्यापारलाई पनि निरुत्साहित गरी करको दायरामा ल्याउनुपर्नेमा जोड दिए । बिल लिने/दिने व्यवस्थालाई पनि अनिवार्य रुपमा कार्यान्व्यनमा ल्याउनुपर्ने उनको माग छ ।
भेटमा अर्थमन्त्री डा. महतले अर्थतन्त्रको पछिल्लो अवस्थालाई गम्भीरताका साथ लिएको बताए । उनले बजेट र मौद्रिक नीतिको सफल कार्यान्वयनका लागि समन्वय भइरहेको बताए ।“अर्थतन्त्र चलायमान हुन सकेको छैन, यस विषयमा मैले गर्भनर महाप्रसाद अधिकारी लगायत सरोकारवाला निकायका सचिवहरुसंग पनि छलफल गरिरहेको छु” उनले भने । लक्ष्य अनुसार कर उठ्न नसकेको विषयमा भन्सारका अधिकारीहरुसँग आफूले जानकारी लिइरहेको डा महतको भनाइ छ । आगामी आर्थिक वर्षबाट अर्थतन्त्रले लय समाउने उनले बताए । नवनियुक्त अर्थमन्त्री डा. महतसमक्ष चेम्बरले समसामयिक आर्थिक विषयमा विभिन्न १७ बुँदामा सुझाव समेत दिएको छ । अर्थमन्त्रीलाई सुझाव दिने क्रममा चेम्बर अध्यक्ष मल्लले अर्थतन्त्रलाई चलायमान बनाउन छिटोभन्दा छिटो एकल ब्याजदर कायम गर्न समेत आग्रह गरे ।यस्तै अध्यक्ष मल्लले तरलता अभावलाई व्यवस्थित गर्नका लागि पुँजीगत खर्चमा टाईम बाउण्ड एक्सन प्लान बनाई कार्यान्वयन गरिनुपर्नेमा जोड समेत दिए । पुँजीगत खर्च कार्यान्वयनको अवस्थाबारे त्रैमासिक पुनरवलोकन गरी कार्यान्वयन गरिनुपर्ने उनको भनाइ छ । चेम्बरले रेमिट्यान्सको पैसालाई उत्पादनमूलक क्षेत्रमा लगानी प्रोत्साहन गर्न समेत आग्रह गरेको छ । “रेमिट्यान्सबाट भित्रने रकमको ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ” चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस्तो परिस्थितिमा बैंकिङ च्यानलमार्फत मुलुक भित्रिने रेमिट्यान्सलाई ऊर्जालगायत पूर्वाधार तथा उत्पादनमुलुक क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्न आवश्यक छ ।”चालू पुँजीमार्ग निर्देशनलाई निजी क्षेत्र, बिज्ञ समूह, तथा सरोकारवाला निकायसँग विस्तृत छलफल पछि मात्रै कार्यन्वयनमा ल्याउन समेत चेम्बरले जोड दिएको छ । चेम्बर अफ कमर्सका तर्फबाट अध्यक्ष मल्लसहित निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्षहरु सुरेन्द्र कुमार श्रेष्ठ, दिपक श्रेष्ठ, दिपक कुमार मल्होत्रा, उर्मिला श्रेष्ठ लगायतका कार्यसमिति सदस्यहरुले नवनियुक्त अर्थमन्त्री डा. महतलाई बधाई एवं शुभकामना दिए।




























