
नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औँ वार्षिकोत्सवका अवसरमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले असार ८ गतेदेखि पुस्तक प्रदर्शनी सुरु गरिने भएको छ ।प्रदर्शनीमा प्रतिष्ठानले प्रकाशन गरेका पुस्तक र पत्रपत्रिका गरी छ सयभन्दा बढी राख्ने तयारी भएको व्यवस्थापक सुधीर ढुङ्गेलले राससलाई जानकारी दिनुभयो ।प्रदर्शनीमा प्रज्ञाले २०३० देखि २०८० जेठसम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राखिनेछ । रु तीनदेखि रु तीन हजार तीन सय ३५ सम्म मूल्यका पुस्तक प्रदर्शनीमा राखिने जनाइएको छ ।प्रदर्शनीमा भाषा, साहित्य, बालसाहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य, थायभू, आँगनलगायतका धेरै विषयका पठनीय एवम् अति उपयोगी पुस्तक एवम् पत्रपत्रिका समावेश गरिनेछ ।नेपाली बृहत् शब्दकोश र प्रज्ञा नेपाली अङ्ग्रेजी शब्दकोशलगायतको बिक्रीमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । प्रतिष्ठानबाट प्रकाशन सुरु भएदेखि २०७९ सालसम्मका पुस्तकमा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिनेछ ।माटोको ममता, महेन्द्र प्रवचन माला जस्ता रु तीनदेखि प्रज्ञा नेपाली बृहत् शब्दकोशको रु तीन हजार तीन सय ३५ सम्मका पुस्तक प्रदर्शनीमा राखिएको छ । यसअघिका प्रदर्शनीमा साहित्यमा अनुसन्धान गरिरहेका विद्यार्थीहरु बढी पुस्तक किन्न आउने गरेको प्रतिष्ठानले जनाएको छ ।प्रज्ञाले वर्षमा कम्तीमा तीनपटक पुस्तक प्रदर्शनी आयोजना गर्ने गरेको छ । पृथ्वी जयन्तीका अवसर पारेर पुस महिनामा, नयाँ वर्षको अवसर पारेर वैशाख र प्रतिष्ठानको वार्षिकोत्सवको अवसर पारेर असार महिनामा प्रदर्शनी आयोजना हुने गरेको छ ।प्रदर्शनीमा बाल साहित्यका पनि धेरै पुस्तक बिक्री हुने गरेको जनाइएको छ । दैनिक तीन सयभन्दा बढी पाठकले प्रदर्शनी अवलोकन गर्न आउने र दैनिक रु २० हजार बराबरको पुस्तक बिक्री हुने अपेक्षा गरिएको व्यवस्थापक ढुङ्गेलले बताउनुभयो ।हरेक नेपालीको हात र मनमा प्रज्ञाका पुस्तक पु¥याउने अभियानका रुपमा पनि प्रदर्शनीलाई अघि बढाइएको छ । प्रदर्शनीको मुख्य उद्देश्य पठन संस्कृतिको विकास गर्नु रहेको जनाइएको छ । प्रदर्शनीको शुक्रबार बिहान कुलपति भुपाल राईले शुभारम्भ गर्नुहुनेछ । रासस




























