
काठमाडौँ । हरेक वर्ष जुलाई २८ का दिन विश्वभर विश्व हेपाटाइटिस दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै आएको छ। हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने, समयमै परीक्षण गराउने र उपचारमा पहुँच बढाउने उद्देश्यले यो दिवस मनाइन्छ।विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार हेपाटाइटिस ‘बी’ र ‘सी’ बाट संक्रमित १० जनामध्ये ९ जनालाई आफू संक्रमित भएको जानकारी नै हुँदैन। एचआईभी/एड्स, मलेरिया र क्षयरोगजस्तै हेपाटाइटिस पनि ज्यानै लिन सक्ने गम्भीर रोग हो। नेपालमा बोलीचालीको भाषामा हेपाटाइटिसलाई ‘जन्डिस’ भनेर पनि चिनिने गरिन्छ, यद्यपि सबै जन्डिस हेपाटाइटिसका कारण हुने भने होइन।डब्ल्यूएचओका अनुसार हेपाटाइटिस ‘बी’ र ‘सी’ का कारण हरेक वर्ष विश्वभर करिब १३ लाख मानिसको मृत्यु हुने गरेको छ। साथै, विश्वभर करिब ३२ करोड ५० लाख मानिस यी दुई प्रकारका हेपाटाइटिसबाट प्रभावित छन्।यस वर्षको विश्व हेपाटाइटिस दिवसले हेपाटाइटिस उन्मूलन, कलेजोको क्यान्सरको रोकथाम, रोगसँग जोडिएको सामाजिक कलंक अन्त्य तथा परीक्षण र उपचारमा सबैको सहज पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकतामा विशेष जोड दिएको छ। स्वास्थ्य विज्ञहरूले समयमै परीक्षण, सुरक्षित जीवनशैली, आवश्यक खोप तथा उपचारमार्फत हेपाटाइटिस नियन्त्रण गर्न सकिने भएकाले जनचेतना अभिवृद्धि गर्न आग्रह गरेका छन्।



























