
काठमाडौं । उपन्यासकार नारद पोखरेलको नयाँ औपन्यासिक कृति ‘उर्वरा’ को सार्वजनिकीकरण गरिएको छ । शनिबार काठमाडौंमा नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा अग्रज साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, कथाकार माया ठकुरी लगायतले उक्त कृति लोकार्पण गरे ।उपन्यासमार्फत लेखकले प्रयोगसहित नयाँ सन्देश दिन खोजेको बताउँदै शर्माले सफलताको शुभकामना दिए । कथाकार ठकुरीले शुभकामना दिँदै एउटा सर्जकले साहित्यका माध्यमबाट आफूलाई अभिव्यक्त गर्ने बताइन् ।
टिप्पणीकार अनुपमा रेग्मीले कुनै पनि उपन्यासलाई महाकाव्य बोकेको विधा भन्न मिल्ने बताइन् । उनले ‘उर्वरा’ आदर्शवादी उपन्यास भएको बताइन् ।
समाजका संरक्षक पवन आलोक, साहित्यकार विधान आचार्य, गीतकार संघका अध्यक्ष वसन्त थापा, माधव विडारीलगायत व्यक्तिले कार्यक्रममा आ आफ्नो विचार राखेका थिए ।




























