
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु न्यायको माग गर्दै धर्नामा बसेका छन् । काठमाडौंको माईतीघरमा साह सहित आजपाका नेताकार्यकर्ता समेत आज धर्ना बसेका हुन् ।न्यायको माग गर्दै विगत १४६ दिनदेखी धर्नामा बसेको आरती साहको परिवारको माग यथासिघ्र सम्बोधन गर्न उनले सरकारसंग माग समेत गरेका छन् । यस अघि समेत आजपा अध्यक्ष साह माईतीघर पुगेर उनको संघर्षप्रति समर्थन गर्नुका साथै संसदमा समेत पटक–पटक आवाज उठाउँदै आएका छन् । लामो समयदेखी धर्नामा बसेको आरती साहको परिवारलाई न्याय दिनमा ढिलाई गरेको, संसदमार्फत समेत आवाज उठाउँदा सुनुवाई नगरेको भन्दै उनले आफै माईतीघरमा गएर धर्ना बसेका हुन् । माईतीघरमा धर्ना बस्न पुगेका आजपा अध्यक्ष साहले यथासिघ्र वार्ता एवं सम्बादद्धारा सरकारले उनीहरुको माग सम्बोधन नगरे यो भन्दा कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत दिए ।‘पीडित परिवारको अटुट आत्मबल एवं संघर्ष तथा विभिन्न प्रारुपमा हामी लगायत आम न्यायप्रेमीहरुको सक्रिय साथ – सहयोगले यो आन्दोलनले सार्थकता प्राप्त गरेरै छाड्ने गहिरो अपेक्षा एवं विश्वास सहित सरकारलाई छिटै वार्ता–संवादद्वारा यसको ठोस समाधान दिन हार्दिक आग्रह गर्दछु’ साहले भने । पार्टीको निर्णय अनुसार आजपाले नेपाल मानव अधिकार आयोगलाई यस बारेमा बिहिबार ध्यानाकर्षण पत्र बुझाउँदै छ । लामो समयदेखी धर्ना दिदा समेत माग सम्बोधन गर्नमा सरकारले चासो नदिएको भन्दै उनले सरकारको आलोचना समेत गरेका छन् ।आरती साह गत जेठ ७ गते आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिईन् । जनकपुर उपमहानगरपालिका–९ थापाचोकका मोदीबाबु साहसँग विवाह गरेकी आरतीलाई दाईजो थोरै ल्याएको भन्दै उनको परिवारले हत्या गरेको आरतीका आमाबाबुको आरोप छ । घटनाको निश्पक्ष छानविन गरी दोषीलाई कारबाहीको माग गर्दै आरतीका आमाबाबु लामो समयदेखि माईतीघरमा धर्नामा छन् । गृहमन्त्रालयले आरतीका बाबुआमालाई वार्तामा आउन गत सोमबार पत्र काटेपनि अहिलेसम्म वार्ता हुन सकेको छैन ।




























