काठमाडौं । वीर अस्पतालले क्यान्सर रोगीको उपचारका लागि अत्याधुनिक टोमोथेरापी मेसिन सञ्चालनमा ल्याएको छ । टोमोथेरापी विकिरणको माध्यमबाट क्यान्सर रोगको उपचारमा प्रयोग गरिने अत्याधुनिक उपकरण हो । ‘क्यान्सर बिरामीका लागि अत्याधुनिक उपकरण टोमोथरापी सञ्चालनमा ल्याइसकेका छौ’, डा. बस्नेतले भने, ‘क्यान्सरका लागि उपचार गर्न बिरामीले निजी अस्पतालमा लाखौं खर्च गनुपर्थ्यो । अब गरिब बिरामीले यो सेवा निःशुल्क सेवा पाउनेछन् ।’अस्पतालले भारतबाट आएका अनुभवी प्रविधिज्ञ टोलीको समन्वयमा सेवा सुरु गरेको हो । ‘हामीसँग दक्षजनशक्ति छन् । भारतबाट आएका विज्ञले तालिम दिएर फर्किसकेका छन्,’ डा. बस्नेतले भने, ‘भखरै सञ्चालनमा आएकाले पूर्ण क्षमता अनुसार सेवा दिन केही समय लाग्छ ।’अस्पतालले एक सातादेखि टोमोथेरापी सेवा सञ्चालनमा ल्याएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भुपेन्द्र बस्नेत जानकारी दिए ।टोमोथेरापी क्यान्सर उपचारको परम्परागत रेडियोथेरापीभन्दा आधुनिक प्रविधि हो । न्याम्सका उपकुलपति बस्नेतका अनुसार टोमोथेरापी सेवाको औपचारिक उद्घाटन भने केही समयपछि मात्र गर्ने तयारी भएको भएको छ ।२०७४ असार २९ मा अमेरिकी कम्पनीको नेपालस्थित एजेन्ट लाइफलाइन ट्रेड इन्टरनेशनल कम्पनीसँग वीर अस्पतालको व्यवस्थापकीय टिमले टोमोथेरापी मेसिन खरिदको सम्झौता गरेको थियो । वीर अस्पतालले करिब ४० करोड लागतमा टोमोथेरापी मेसिन किनेको हो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का तत्कालिन उपकुलपति डा. गणेश गुरुङको पालामा मेसिन खरिदको निर्णय भएको थियो । मेसिन खोल्दै नखोली बिग्रिएपछि अस्पतालले उक्त मेसिनको सट्टा अर्को मेसिन पठाउन कम्पनीलाई आग्रह गरेको थियो । सोही अनुसार कम्पनीले बिग्रिएको उपकरण फिर्ता लगेर नयाँ मेसिन ल्याइदिएको हो । २० वर्ष पुरानो कोबाल्ट मेसिन २०७२ सालदेखि बिग्रिएपछि वीरमा क्यान्सर रोगको उपचार सेवा बन्द थियो ।डा. बस्नेतका अनुसार दैनिक ३० जनालाई सेवा दिने गरी योजना बनाइएको छ । यसभन्दा अगाडि वीरका लागि ल्याइएको टोमोथेरापी मेसिन लामो सयम बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालको खुला चौरमा राखिएको थियो । त्यतिबेला मेसिन राख्ने संरचना तयार नगरी हतार-हतार टोमोथेरापी मेसिन खरिद गर्दा थोत्रिएको थियो । विपन्न नागरिकले निशुल्क र सस्तोमा उपचार गर्ने वीर अस्पतालमा वर्षौंदेखि सेवा ठप्प भएपछि हजारौं बिरामी उपचारबाट वञ्चित भएका थिए । यस अवधिमा नेपालमा क्यान्सर उपचार गर्नेहरुले निजी अस्पतालमा चर्को शुल्क तिरेर उपचार गराउन बाध्य भएका थिए ।कोबाल्ट मेसिन सञ्चालन हुँदा वार्षिक १ हजार ५ सय जनासम्म क्यान्सरका बिरामीले भर्ना भएर उपचार सेवा लिँदै आएको अस्पतालको तथ्यांक छ । भर्ना भएका क्यान्सर रोगीमध्ये ७० प्रतिशतलाई रेडियोथेरापीबाट उपचार गर्नुपर्ने विज्ञ बताउँछन् । चिकित्सकका अनुसार टोमोथेरापी मेसिनले बिरामीको शरीरमा फैलिएका क्यान्सरका सेलहरु नष्ट गर्छ । टोमोथेरापीले क्यान्सरग्रस्त कोषमा मात्रै विकिरण दिने भएकाले क्यान्सर भएको भागको वरिपरिका स्वस्थ कोषमा विकिरणको प्रभाव पर्दैन ।यसले हजारौं स-साना विकिरण प्रयोग गर्ने हुँदा जति मात्रा आवश्यक छ त्यति मात्र र जस्तोसुकै कोणबाट पनि रेडियसन दिएर उपचार गर्न सम्भव बनाउँछ। सरकारी तथ्यांक अनुसार नेपालमा वार्षिक ३० हजार जना क्यान्सरका नयाँ बिरामी थपिन्छन् । टोमोथेरापी मेसिन मष्तिष्क क्यान्सर र सामान्य ब्रेन ट्युमर, टाउको, घाँटी र मुखको क्यान्सर, स्तन क्यान्सर, फोक्सोको क्यान्सर, छालामा हुने क्यान्सरहरू, प्रोस्टेट क्यान्सर, भोजन नली र पाचन प्रणालीका क्यान्सर, सर्भाइकल, ओभ्यारियन, भेजिनल तथा भल्भ र गर्भाशय लगायतका क्यान्सरको उपचारमा प्रयोग गर्न सकिन्छ ।