
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न सरकार संवेदनशील रहेको बताउनुभएको छ ।मंगलवार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न सरकार संवेदनशील रहेको बताउनुभएको हो । उहाँले मिटरब्याज पीडित र लघुवित्त पीडितहरुको समस्यालाई सरकारले गम्भिरतापूर्वक हेरेको बताउनु भयो । समस्या समाधानका लागि कोशिस पनि भइरहेको उहाँले बताउनु भयो । उहाँले कयौँ ठाउँमा मिटरब्याज रोकिएको र ऋण लेनदेन नभएको पनि बताउनु भयो । कतिपय ठाउँमा मिलापत्र गराइ सकिएको पनि उहाँको भनाई छ । मन्त्री शर्माले सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत समस्या समाधानको प्रयास गरिरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘मिटरब्याज पीडितहरुको विषयमा सरकार संवेदनशील छ । मिटरब्याज पीडितको सम्बन्धमा वार्ता समिति बनाएर काम शुरुवात पनि गरिसकेको छ । सँगसँगै फेरि लघुवित्तसँग सम्बन्धित व्यक्तिहरु पनि आउनुभएको छ । लघुवित्तदेखि लिएर, मिटरब्याजसम्म थुप्रै कुराहरुमा समस्याहरु छन् । आजै हाम्रो पार्टीको स्थायी कमिटी बैठकमा पनि यो कुरा गम्भिरतापूर्वक उठेको थियो । पार्टीको उपाध्यक्ष गृहमन्त्री पनि उपस्थित हुनुहुन्थ्यो । त्यहाँ हाम्रो छलफल भएको विषय के हो भने, यो विषयलाई सरकारले गम्भिरतापूर्वक हेरेको छ । समस्या समाधानको कोसिस भइराखेको छ । कयौँ ठाउँमा हामीले मिटरब्याज रोक्यौँ । ऋण लेनदेनको स्थिति हुने भएन । धेरै ठाउँमा मिलापत्र गराइयो । सिडिओ कार्यालयमा समिति नै गठन गरेर थुप्रै मिलापत्रका कामहरु पनि भएका छन् । ब्याजलाई स्याज बनाएर साँवामा रुपान्तरण गर्ने कामहरु हुन्थे त्यो कामहरुलाई अन्त्य गर्ने र यसलाई अपराधकै रुपमा हामीले परिभाषित नै गरिसक्यौँ । कहाँबाट मानिसले दुई, चार पैसा ऋण लिने भन्नेकुराको विकल्प पनि सोच्नुपर्छ भन्ने ढंगका पनि कुराहरु उठेका छन् । यो सबै विषयमा सरकार गम्भिरतापूर्वक लागेको छ । सकारात्मक ढंगले लागेको छ । अहिले जतिपनि मिटरब्याजसँग सम्बन्धित व्यक्तिहरु यहाँ आउनुभएको छ, हाम्रो आग्रह के हो भने यहाँ आएर दुःख पाउने, अलपत्र पर्ने, खान बस्नको समस्या हुनुभन्दा सम्बन्धित ठाउँमै गएर, सरकारले सिडिओ कार्यालयमार्फत् त्यहाँ समितिहरु बनाएर समाधानको प्रयत्न गरिराखेको छ । त्यसकारणले यो विषयलाई उचाल्ने भन्दापनि ठिक ढंगले समाधान गर्नेतिर जानुपर्छ । अहिले ठूलो संख्यामा समस्या समाधान भएपनि सबैको समस्या समाधान भइसकेको छैन । यसमा सरकारले गम्भिरतापूर्वक हेरिराखेको छ ।’उहाँले मिटरब्याज पीडितहरुको विषयलाई उचाल्ने भन्दापनि समस्या समाधान गर्नेतर्फ जानुपर्ने भन्दै सरोकारवालालाई आग्रह समेत गर्नुभयो ।




























