
काठमाण्डाै – महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ जरलहवा गाछीमा आगलागी हुँदा एक सय ५० वटाभन्दा बढी घरगोठ जलेका छन् ।आज दिउँसो १२ बजेदेखि शुरु भएको आगलागीमा फुस, खर, पराल र केही पक्की गरी एक सय ५० वटाभन्दा बढी घरगोठ जलेका मटिहानीका सहायक कम्प्युटर अपरेटर मोहम्मद इरसाफिल राईनले उज्यालोलाई जानकारी दिनुभयो । आगलागीमा अहिलेसम्म मानवीय क्षति भएको छैन तर पशुचौपाया, अन्नपात जलेर नष्ट भएका उहाँले बताउनुभयो ।अहिले नगरपालिकासहित छिमेकी पालिकाका दमकलसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीले आगो निभाउने प्रयास गरिरहेका छन् । दिउँसो खाना बनाउने समयमा जरलहवा गाछीमा आगलागी भएको थियो ।अहिले कार्यपालिकाको आकस्मिक बैठक बसिरहेको र राहतबारे आजै निर्णय हुनसक्ने मटिहानीका सहायक कम्प्युटर अपरेटर राईनले बताउनुभयो ।




























