काठमाडौं : विवेकशील साझा पार्टीको मिलन पाण्डे समूहले मेयर पदमा संस्थापन उम्मेदवारविरुद्ध बागी उठाउने भएको छ । पार्टीका संयोजक मिश्रले काठमाडौं महनगरपालिकामा समीक्षा बास्कोटालाई मेयर र कीर्ति तुलाधरलाई उपमेयरको उम्मेदवार बनाएका छन् । यो निर्णय एकलौटी भएको भन्दै पाण्डे समूहले आइतबार विज्ञप्तिमार्फत् बागी उठाउने घोषणा गरेको हो ।विवेकशील साझा पार्टीले स्थानीय तहमा उम्मेदवारीको सवालमा अहिले उम्मेदवार घोषणा गरिएका उम्मेदवारबारे आधिकारिकरूपमा जानकारी नभएको स्पष्ट पारेको छ । विवेकशील साझा पार्टीका प्रवक्ता हरीशप्रसाद भट्टले रवीन्द्र मिश्रले गोजीबाट उठाएको उम्मेदवारलाई समर्थन नगर्ने स्पष्ट पारेका हुन् ।राजनैतिक, नैतिक र कानुनी रुपमा पार्टीको आधिकारिकताबारे छलफल भइरहँदा पार्टीको स्थापनाको मर्म र 'प्रोग्रेसिभ डेमोक्रेसी' लाई आत्मसाथ गर्ने विवेकशील साझा ( मूलबाटो ) पार्टीले स्थानीय तहका आफ्नो उम्मेदवार छिट्टै घोषणा गर्ने जानकारी गराएको छ ।भट्टले भने, 'सहभागितामूलक लोकतन्त्र भनेर पर्चा बाँड्दै आएको पार्टीमा अध्यक्षले आफ्नै गुटको केन्द्रीय समितिमा समेत छलफल नगरी खल्तिबाट उम्मेदवारको नाम झिकेर भइरहेका गतिविधिप्रति हाम्रो सहमति छैन।'
विवेकशील साझा पार्टीको तर्फबाट रविन्द्र मीश्रको उपस्थितिमा काठमाडौं महानगरको मेयर र उपमेयरका उम्मेदवारले प्रतिज्ञापत्र सार्वजनिक गरेका थिए ।