
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्नेगरी सम्झौता भएकाले निजी क्षेत्रलाई ढुक्क भएर विद्युत उत्पादनमा लाग्न आग्रह गर्नुभएको छ ।स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २२ औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले १० हजार मेगावाट विद्युत निर्यात गर्ने अवस्था समृद्धिको यात्राका लागि ऐतिहासिक उपलब्धी हुने विश्वास व्यक्त गर्नुभयो ।बिजुली निर्यातको दीर्घकालीन सम्झौता ऊर्जा विकासका लागि कोशेढुङ्गा सावित हुनेमा आफू विश्वस्त रहेको उहाले बताउनुभयो । त्यस्तै उहाले विद्युत् निर्यात मात्रै नभइ स्वदेशभित्रै विद्युत् खपतका लागि समेत धेरै योजना र कार्यक्रम अघि बढाइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पेट्रोलियम पदार्थको आयात घटाउँदै जाने र विद्युतीय उपकरण र सवारीसाधनलाई प्रोत्साहन गरी विद्युतको खपत बढाउँदै जाने सरकारको योजना रहेको बताउनुभयो ।प्रधानमन्त्री प्रचण्डले कुनै बेला दैनिक १६ घण्टाको चरम लोडसेडिङको अवस्थामा रहेको मुलुकमा अहिले वर्षायाममा विद्युत निर्यात गर्ने अवस्थामा पुगेको स्मरण गर्नुभयो । उहाले तेस्रो लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न भएको र यसले लगानी भित्र्याउनका लागि स्वदेशी, विदेशी लगानीकर्तामाझ सकारात्मक सन्देश प्रवाह भएको जिकिर गर्नुभयो ।उहाले लगानी प्रवर्द्धनमा बाधक देखिएका ऐनहरू अध्यादेशमार्फत् संशोधन गरिएका कारण पनि अब लगानीका लागि दुविधा राख्नुपर्ने परिस्थितिको अन्त्य भएको स्पष्ट पार्नुभयो ।त्यस्तै इप्पानका पूर्वअध्यक्ष कृष्णप्रसाद आचार्यले विद्युत प्राधिकरणबाहेक अरुले विद्युत खरिद र बिक्रि गर्ने भएकाले अरुले पनि खरिद र बिक्रि गर्न सक्ने गरि ढोका खोल्नुपर्ने बताउनुभयो । उहाले सरकारले बनाएको नीति कार्यान्वयनमा सरकारले ध्यान दिन नसकेको धारणा राख्नुभयो ।




























