
नेकपा एमालेका नेता योगेश भट्टराईले गृहमन्त्रीलाई मात्रै फसाउने गरि संसदीय छानविन समिति गठन गर्ने कुरा स्वीकार्य नहुने बताउनुभएको छ ।मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले कांग्रेसले भनेका केहि सहकारीसहित समग्र सहकारीको छानविन गर्ने गरि समिति बन्नुपर्ने भन्दै गृहमन्त्रीलाई मात्रै फसाउने गरि संसदीय छानविन समिति गठन गर्ने कुरा स्वीकार्य नहुने बताउनुभएको हो । उहाले समिति बनेपछि हुने छलफल र निष्कर्षले दोषी देखाएकालाई कारवाही गर्न सकिने धारणा राख्नुभयो । भट्टराईले सुन प्रकरण जस्तै न्यायीक आयोग गठन गर्ने सहज हुने भएपनि संसदको समिति बनाउनका लागि भने सहज नहुने जिकिर गर्नुभयो ।त्यस्तै माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकार लचिलो भएपनि प्रतिपक्षी दल मुढभेडमा उत्रिएको बताउनुभयो । उहाले कांग्रेसको क्रियाकलापले अहिलेको व्यवस्थाको बिरोधीहरुलाई फाइदा पुगिरहेको जिकिर गर्नुभयो । सापकोटाले कुनै व्यक्तिलाई जवरजस्ती दोषी देखाउनका लागि कांग्रेसको ध्यान केन्द्रीत भएको प्रतिक्रिया दिनुभयो ।
त्यस्तै उहाले संसदलाई बजेट निर्माणलाई केन्द्रीत गर्नुपर्ने भन्दै सरकार अध्यादेशबाट बजेट ल्याउने पक्षमा नरहेको स्पष्ट पार्नुभयो ।




























