
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध अन्त्य गर्न सरकारले पहल गरिरहेको बताउनुभएको छ ।
आइतबार राष्ट्रियसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले विरोधकाबीच नीति तथा कार्यक्रमको छलफल हुँदा नमिठो लागेको भन्दै संसदको गतिरोध अन्त्य गर्न सरकारले पहल गरिरहेको बताउनुभएको हो ।संसदीय छानविन समिति बनाउने बिषयमा सर्वसम्मत भइरहेको भन्दै उहाले त्यसको कार्यादेशका बारेमा टुंगो लगाउन बाँकी रहेको धारणा राख्नुभयो ।आगामी आर्थिक वर्षको प्रस्तुत नीति तथा कार्यक्रमले देशमा संविधानले निर्दिष्ट गरेबमोजिम समाजवादोन्मुख सामाजिक आर्थिक रुपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकांक्षा पुरा गर्ने लक्ष्य लिएको उहाले बताउनुभयो ।कांग्रेसका सांसदहरुको विरोधकाबीच बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक, २०८० पेश गर्नुभयो । त्यस्तै अर्थमन्त्री बर्षमान पुनले आर्थिक सर्वेक्षण पेश गर्नुभएको थियो ।




























