
सशस्त्र प्रहरी बल नेपालले सबै कार्यालयहरूमा मनसुनको समयमा बाढी, पहिरो, डुबान एवं विपदमा परेकाहरूको तत्कालै उद्धारको लागि मनसुन प्रतिकार्य टोली तयारी हालतमा राखेको छ।आवश्यक स्रोतसाधनसहित तैनाथ जनशक्तिले बाढी पहिरो र डुबानको सम्भावित इलाकामा हजार्ड म्यापिङ गरी ती स्थानहरुमा केन्द्रित भई लामो र छोटो गस्ती गर्नुकासाथै देशभरका कार्यालयहरुमा डिजास्टर फोकल पर्सनहरु तोकि आवश्यक समन्वय गर्ने व्यवस्था समेत मिलाइएको छ ।देशभर स्थापना भएका राष्ट्रिय आपतकालिन कार्य संचालन केन्द्र, प्रदेश आपतकालिन कार्य संचालन केन्द्रहरू, जिल्ला आपतकालिन संचालन केन्द्रहरूमा तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू खटिएर आवश्यक समन्वय थालिसकेको छ।राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्रधिकरणद्वारा सशस्त्र प्रहरी बल नेपाललाई हस्तान्तरण गरिएका ८ वटा मास क्याजुल्टी भेहिकल र ८ वटा ए क्लासका एम्बुलेन्सलाई परिचालन गर्न सक्ने गरी सुनसरी, महोत्तरी, कुरिनटार, पोखरा, रुपन्देही, सुर्खेत, कैलाली र काठमाडौँमा तयारी अवस्थामा राखिएको छ । विपद्को समयमा शुद्ध पिउने पानीको अभावलाई पूर्ती गर्न अमेरिकी दुतावासद्धारा निर्मित डिप ट्युवेल काठमाडौको ७ स्थानसहित कास्की, नवलपरासी, बाँके, कैलालीमा तयारी अवस्थामा रहेको छ । त्यस्तै अमेरिकी दुतावासबाट प्राप्त Disaster relief System -DRS_ का २८ वटा कन्टेनर १३ जिल्लाका १५ वटा सशस्त्र प्रहरी बल नेपालका कार्यालयहरुमा वितरण गरी तयारी हालतमा राखिएको छ भने ५ वटा कन्टेनर जाजरकोट भुकम्पमा प्रयोग गरी सकिएको छ ।भूकम्प, हिमपात, हिमपहिरो, शितलहर, आगलागी, डँढेलो, आँधी, हुरी, बतास एवं पानीजन्य विपद्हरु जस्तै बाढी, पहिरो, चट्याङ्ग आदि जस्ता घटनाहरु मध्यनजर गर्दै समुदायमा गई विपद् सचेतना फैलाउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालले सचेतनामूलक प्रशिक्षणहरु पनि दिलाउँदै आइरहेको छ । आषाढ, श्रावण र भाद्र महिनामा पानीजन्य विपद्हरु र अन्य महिनाहरुमा सडक दुर्घटना, विभिन्न किसिमका महामारीहरु, आगलागी, डँढेलो, आँधी हुरी बतास, भूकम्प, शितलहर आदि जस्ता विपद्हरुका बारे सचेतनामूलक प्रशिक्षणहरु दिदै आएको छ ।विपद् जोखिम न्यूनीकरणका लागि २०८१ सालसम्मको अवधिमा ४ हजार ७ सय ५३ वटा विद्यालय तथा २ हजार २ सय ५ वटा समुदायहरुमा कुल ४ लाख ४० हजार ६ सय ५ जना विद्यार्थी एवं समुदायका सर्वसाधारणहरुलाई सहभागी गराई विपद् सचेतना सम्बन्धी कक्षा संचालन गरिएको सकिएको छ । यसअघि २०८० सालमा देशभरका विभिन्न १ हजार ७ सय ३३ विद्यालय र ९ सय २१ समुदायस्तरमा पुगी कुल १ लाख ४३ हजार १ सय ९८ जनालाई समेत विपद् जोखिम न्यूनीकरण अन्तर्गत सचेतनामूलक प्रशिक्षण गराइएको थियो ।




























