काठमाडौं । । चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज नेपालको तीनदिने औपचारिक भ्रमणमा आउँदै छन्।भ्रमणका क्रममा उनी यही असार ११ गते काठमाडौंमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।बैठकको लागि चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुन वेइडोङ र नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले नेतृत्व गर्दैछन् । बैठकमा दुई देशबीचको आपसी सहयोग, व्यापार, सीमा व्यवस्थापन तथा दुई देशबीच भएका द्विपक्षीय सम्झौताबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् भने प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरु सम्मिलित हुनेछन्।नेपालले व्यापार, लगानी र पर्यटन प्रवर्द्धन, कनेक्टिभिटी विस्तार, कृषि, शिक्षा, चिनिया सहयोग लगायतको विषयलाई समेटेर एजेन्डा तय गरेको जनाइएको छ ।चिनियाँ उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।संयन्त्रको १५औँ बैठक गत वर्ष बेइजिङमा सम्पन्न भएको थियो ।