काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार आइतबार (असार ३०) ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।प्रधानमन्त्रीमा नियुक्त ओलीको सपथ सोमबार बिहान ११ बजेका लागि तयारी गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । ७३ वर्षीय ओली चौथो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन् ।
नेपाली कांग्रेसको समर्थनमा शुक्रबार राति ओलीले संविधानको धारा ७६ (२)बमोजिमको प्रधानमन्त्री दाबी पेश गरेका थिए । पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएर पदमुक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय दिएका छन् ।